दुई दर्जन न्यायाधीश यताउता, विशेषका खुशीप्रसाद जनकपुर

दुई दर्जन न्यायाधीश यताउता, विशेषका खुशीप्रसाद जनकपुर
सुन्नुहोस्

उच्च, विशेष र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा गरिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आज बसेको न्याय परिषद् बैठकले न्यायाधीश सरुवाको सिफारिस गरेको छ ।

जसअनुसार पाटन उच्च अदालतमा दरबन्दी भई विशेषमा काज तोकिएका न्यायाधीश डा. खुशीप्रसाद थारु उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सरुवा भएका छन् । पाटन अदालतमा दरबन्दी भई राजश्व न्यायाधीकरणमा कार्यरत रमेश ढकाललाई उच्च अदालत तुलसीपुरको बुटवल इजलास तोकिएको छ । 

उच्च अदालत दिपायलका न्यायाधीश डालकुमार खड्का पाटन आउने भएका छन् । तुलसीपुर उच्च अदालतको बुटवल इजलासका दिपेन्द्र अधिकारीलाई उच्च अदालत पोखरा सरुवा गरिएको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश सागर विष्ट बुटवल इजलास जाने छन् ।

उच्च अदालत जनकपुरको राजविराज इजलासका मात्रिकाप्रसाद भण्डारी र उच्च अदालत सुर्खेतका माधव धितालको कार्यक्षेत्र साटफेर गरिएको छ । उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाका हरिप्रसाद भण्डारीलाई उच्च अदालत तुलसीपुर काज सरुवा गरिएको छ ।

राजश्व न्यायाधीशकरणको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई तोक्ने न्याय परिषद्को निर्णय छ ।

 

टिप्पणीहरू