माओवादीको विद्यार्थी संगठनमा फेरि किचलो
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा लफडा दोहोरिएको छ । ३२ वर्षे उमेर हद राख्ने कि नराख्ने भन्ने पुरानो विवाद छिनोफानो गर्न भएको मतदानमा धाँदली भएको भन्दै निर्वाचन समितिमा उजुरी परेपछि किचलो चर्किएको हो ।
केही जिल्लामा फर्जी मत परेको भन्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी परेको छ । प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रधानले सम्बन्धित स्थानबाट कागजातपत्रहरु प्राप्त हुन बाँकी रहेकाले मत गणना स्थगित गरिएको बताएका छन् । उनले प्रकाशित गरेको सूचनामा कागजात प्राप्त भएपछि मत गणना सुचारु गर्ने र परिणाम सार्वजनिक गरिने जनाइएको छ ।
‘अनेरास्ववियू(क्रान्तिकारी)को मिति २०८१ पौष १३ गते सञ्चालन भएको उमेर हदसम्बन्धी निर्वाचनको भूगोल र गैह्रभूगोलका जिल्लाहरूका मतदान केन्द्रहरूबाट निर्वाचन सम्बन्धी कागजपत्रहरू प्राप्त हुन बाँकी भएकोले उक्त कागजातहरू प्राप्त भएपश्चात्मात्र मत गणनाको पूर्णताले प्राप्त गर्ने हुँदा तत्पश्चात् मत गणना परिणाम सार्वजनिक गरिने व्यहोरा सम्बद्ध सबैलाई अवगत गराउन चाहन्छौँ,’ सूचनामा उल्लेख छ ।
क्रान्तिकारीको गत असोज १०–१५ सम्म काठमाडौँमा भएको राष्ट्रिय सम्मेलनमा उमेर हदबारे विवाद हुँदा सम्मेलन स्थगित गरिएको थियो । त्यसक्रममा प्रतिनिधिहरु कुर्सी हानाहानसमेत भएको थियो ।
अन्तत: उमेरहदको विवाद टुंग्याउन शनिबार मतदान भएको थियो । तर बैतडी, बाजुरा, मोरङ र गुल्मी जिल्लामा फर्जी मत परेको भन्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी परेपछि मत परिणाम स्थगित गरिएको बताइएको छ ।
विद्यार्थी संगठनमा विवाद देखिएपछि त्यसबारे छलफल गर्न माओवादी केन्द्रले पदाधिकारी बैठक समेत बोलाएको छ । यसअघि सम्मेलनमा लफडा हुँदा पनि पार्टी केन्द्रले हस्तक्षेप गरेको थियो ।
टिप्पणीहरू