विद्यालाई रोकेको कि बाटो खोलेको ?

विद्यालाई रोकेको कि बाटो खोलेको ?
सुन्नुहोस्

एमाले नेताहरू ओलीको विकल्प खोज्न भित्रभित्रै सक्रिय रहेको कुरा अब नौलो रहेन । त्यसका लागि उनीहरू भंगालतिर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न धाइरहन्छन् । एमालेकी पूर्वउपाध्यक्ष भण्डारी पनि आफूलाई भेट्न आउनेलाई उपयुक्त समयमा राजनीतितिर फर्किने जवाफ दिन्छिन् । तर त्यो उपयुक्त समय आउँछचाहिँ कहिले त ? एमालेको एघारौँ महाधिवेशनताका या १७ महिनापछि हुने सत्ताबाट ओलीको बहिर्गमनको बेला ? पार्टीको नेतृत्व लिने गरी फर्किने चाहनालाई विद्या भण्डारीले खुलस्त मात्रै नभनेकी हुन् तर उनी तम्तयार रहेको एमाले नेताहरू नै बताउँछन् ।

पदाधिकारीदेखि तल्लो तहका नेता–कार्यकर्तासम्मले विद्यालाई बागडोर सम्हाल्न तयार हुनुपर्ने भनेर हौस्याइरहेका छन् । एमालेभित्र पनि विद्याको आगमनबारे गाइँगुइँ चल्न थालिसकेको छ । अर्कातिर फुटेर गएको एकीकृत समाजवादीसहितसँग एकताका लागि विद्याले नेतृत्व लिनुपर्ने कुरा पनि छ । किनभने ओलीको नेतृत्व हुञ्जेल माधव नेपाल फर्किन तयार छैनन् । माओवादीसँग एकता असम्भव भएको अवस्थामा नेपाल एमालेमै फर्किन पनि ओलीको विकल्प चाहन्छन् । यसकै लागि भूराजनीतिक परिस्थितिको पनि विश्लेषण गरिँदै छ । 

यी सबै प्रसंगबीच पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किने कुरा अहिलेसम्म पार्टीमा नचलेको जवाफ ओलीले केही दिनअगाडि च्यासलबाटै दिएका छन् । यदि, अवस्था आए पार्टीले सम्मानपूर्वक फर्काउने भन्दै अहिले नै त्यसका लागि तयार नरहेको उनको संकेत छ । कम्तीमा प्रधानमन्त्री र पार्टी अध्यक्षको यो कार्यकालभर उनी आफ्नो पकड बनाइरहन चाहन्छन् भन्ने कुरा च्यासलमा अभिव्यक्त भइसकेको छ । पूर्व राष्ट्रपतिबारे विभिन्न चर्चा–परिचर्चा सुन्ने गरेको बताएका ओलीले भने, ‘उहाँलाई पार्टीले नै राष्ट्रपति बनाएको हो । अब पार्टीको जिम्मेवारीमा फर्काउने काम पनि पार्टीकै हुन्छ ।’

भण्डारीलाई पार्टीमा फर्काउन दोस्रो तहका नेताहरू लागिपरेको बारे ओली अनभिज्ञ नहुने कुरै भएन । तर, अहिलेसम्म पार्टीको भूमिकामा फर्काउने विषयमा भण्डारीसँग कुनै रूपमा छलफल नभएको भनेर कार्यकर्तालाई थामथुम पारिरहेका छन् । बरू उनले उक्त विषयलाई मोड्न एमाले फुटाउन विभिन्न प्रपञ्च भइरहेकाले सचेत हुन कार्यकर्तालाई सुझाए ।

एमालेमा भण्डारीको पुनरागमनका लागि विधानअनुसार २०८४ मा हुने ११ औँ महाधिवेशन कुर्नुपर्छ कि त ओलीमातहत उपाध्यक्ष या अन्य पदमा बस्ने गरी तत्काल आउन सक्नुपर्छ । विधानअनुसार एमालेले आगामी २०८३ मङ्सिर दोस्रो साता ११ औँ महाधिवेशन गर्नुपर्ने हुन्छ । तर एमाले मिसन ०८४ मा लागे ओलीको कार्यकाल अझै लम्बिन सक्छ ।

यता भण्डारीले आफूनिकटलाई दिने अभिव्यक्तिअनुसार उनी चाँडोभन्दा चाँडो पार्टीमा फर्किन चाहन्छिन् । त्यसका लागि ओलीले बीचमै अध्यक्ष पद छाड्न तयार हुनुपर्छ । ओली सरकारबाट नबाहिरिई तत्काल त्यो सम्भावना पनि देखिँदैन । ओलीले सरकार छाडेपछि नेताहरूले पार्टी बचाउने नाममा विद्यालाई नेतृत्व सम्हाल्ने वातावरण बनाउने सम्भावना तत्काललाई कमजोर छ ।

एमालेले २०८२ या ०८३ मै ११ औँ महाधिवेशन गरेर नयाँ ऊर्जासहित मिसन ०८४ मा जाने योजना बनाए विद्याको योजनाले मूर्त रूप पाउन सक्छ । त्यसो नभए विधानको व्यवस्थाअनुसार पनि महाधिवेशनमा जाँदा मिसन ०८४ पछिसम्म कुर्नुपर्ने हुन सक्छ । त्यसअघि उनलाई पार्टीमा फर्काउन ओलीबाटै विशेष निर्णय हुने सम्भावना झिनो रहेको एमाले नेताहरू बताउँछन् । सरकारको विफलताका कारण दबाब परेमा ओलीले नेतृत्व सुम्पिन सक्ने बाटो पनि अर्को विकल्प हुन सक्छ । यदि विद्याले नेतृत्व लिने अवस्था भएमा माधव नेपाल, वामदेव गौतम र डा. भीम रावलहरू पनि जोडिएर एमाले मजबुत हुने तर्कको पनि कमी छैन ।
 

टिप्पणीहरू