कवाड व्यवसायीलाई प्रभुको साथ,नारा लाउँदै महानगर घेराउ
काठमाडौँ महानगरविरुद्ध लामो समयदेखि संघर्षरत कवाड व्यवसायीहरु आज पनि सडकमा ओर्लिएका छन् । मेयर बालेन साहले व्यवसायीमाथि दमन गर्दै तानाशाही प्रवृत्ति देखाएको भन्दै उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन्।
कवाड व्यवसायी संघर्ष समिति र प्रभु साह नेतृत्वको आम जनता पार्टीले संयुक्तरुपमा आयोजना गरेको विरोध कार्यक्रमअन्तर्गत व्यवसायीहरुले महानगर कार्यालय घेराउ गरेका छन् । त्यसअघि उनीहरुले जुलुस निकालेका थिए।
कवाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले नेतृत्व गरेको जुलुसमा आम जनता पार्टीका बरिष्ठ उपाध्यक्ष तिलक थापा मगर, आईटी आर्मी इञ्चार्ज चन्द्रभुषण साहलगायत करिब १५ सयको संख्यामा प्रदर्शनकारी सहभागी छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको खुला चौरबाट नाराबाजीसहित निस्किएका उनीहरुले घन्टाघर, बागबजार, पुतलीसडक हुँदै कमलादीस्थित महानगर कार्यालय पुगेर घेराउ गरेका हुन् ।
प्रदर्शनकारीले 'काठमाडौँ महानगरपालिकाको गुण्डागर्दी बन्द गर', नवराजाहरुको आंतक बन्द गरौं, 'गरिबको रोजीरोटी खोस्न पाइंदैन', ४५ प्रतिशत लुटकारी व्यवस्था खारेज गर', दलाल सरकार मूर्दावाद' जस्ता नारा लगाएका छन्।
कवाड व्यवसाय हटाउने मेयर बालेनको निर्णयविरुद्ध व्यवसायीहरुले यसअघि पनि महानगर घेराउ गर्नुका साथै काठमाडौँका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै आएका छन् ।
टिप्पणीहरू