नेचुरल फोटोग्राफर बन्ने सपनामा देखिएको बाधा हटाउँदै सुशिला

नेचुरल फोटोग्राफर बन्ने सपनामा देखिएको बाधा हटाउँदै सुशिला

अरुले क्यामेरा बोकेर हिँडेको र दुर्बिनजस्तै एउटा आँखा चिम्म पारेर ‘क्लिकक्लिक’ गर्दै तस्बिर खिचेको देख्दा मोरङको केराबारी गाउँपालिका–५, सत्तीसालेकी सुशिला विश्वकर्मा अचम्मित हुन्थिन् र सोच्थिन्,‘बाफ रे ! यी मान्छेहरु त खत्रै पो रहेछन् ।’ त्यतिबेला उनलाई पनि फोटोग्राफर बन्ने इच्छा जाग्थ्यो । 

उनको गाउँमा ‘नमूना कल्चर सिकाई थलो’ नामक संस्था थियो । जसले किशोर किशोरीलाई विभिन्न सीपमूलक तालिम दिने गर्दथ्यो । सोही तालिममा सहभागी उनले फोटो–भिडियो सिक्ने अवसर पाइन् । उनले खिचेको फोटो–भिडियोको सबैले प्रशंसा गर्थे । जसले उनमा उत्प्रेरणा बढायो । त्यसपछि सोही संस्थामार्फत नेचुरल फोटोग्राफीको आधारभूत तालिम लिइन् । 

साथीभाइको क्यामेरा भिरेर उनी प्रकृतिको फोटो खिच्न गाउँघर डुल्थिन् । त्यसैबीच उनलाई ‘फोटो सर्कल नेपाल’ को तालिममा सहभागी हुने मौका मिल्यो । घरको आर्थिक अवस्था नाजुक भएपनि उनले हार मानिनन् । सानैदेखि जोगाएको पैसामा थपथाप गरेर एउटा क्यामेरा किनिन् र आफ्नो रुचीलाई अगाडि बढाइन् । 

भनिन्छ नि,‘कर्म गर तर फलको आशा नगर’, उनको हकमा पनि त्यही भयो । ‘युरोपियन युनियन नेपाल’ बाट नेचुरल फोटोग्राफी प्रतिस्पर्धामा भाग लिने अवसर जुर्यो । उनी चार जनामध्येमा छनौट भइन् । दुई हप्ताको तालिमपछि उनी नेचुरल फोटोग्राफीमा खारिइन् । सोही विधामा फेलोशिप पनि प्राप्त गरिन् । 

फोटोग्राफीलाई शौख मान्ने उनले तालिमबाट धेरै कुरा बुझिन् । तस्बिर आफैंले आफूलाई व्यक्त गर्ने र समाजमा चिनाउने सशक्त माध्यम भएको थाहा पाइन् । उनमा नेचुरल फोटोग्राफीप्रति हुटहुटी बढ्दै गयो । कलेजको पढाइसँगै उनले आफ्नो कर्मलाई पनि अगाडि बढाइन् । 

तर, उनीमाथि आफूसँगै परिवारको दायित्व पनि छ । शिक्षामा स्नातक गरेकी सुशिलाले जागिरको जोहो नगरी भएन । उनलाई भने नेचुरल फोटोग्राफीमै केही गर्न पाए हुन्थ्यो भन्ने छ । ‘गर्नसके यस क्षेत्रमा पनि धेरै सम्भावना छ । म आफ्नो सपना पूरा गर्न दत्तचित्त भएर लागिपरेकी छु । जस्तो बाधा आएपनि आफ्नो सपना पूरा गरेरै छोड्छु’,उनले भनिन् । 

विद्यालयमा हुँदैदेखि फोटो खिच्न थालेकी उनको फोटोग्राफीले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा पाएको छ । सन् २०२५ को फेब्रुअरी १ देखि १६ सम्म कम्बोडियामा हुने एसिया महादेशस्तरीय आवासीय नेचुलर फोटोग्राफी तालिममा उनी छनौट भएकी छन् । तालिममा सहभागी हुन इच्छुक उनलाई आर्थिक अवस्थाले बाधा पुर्याउने होकि भन्ने डर लागेको छ । 

सुशिलाका अनुसार तालिम निःशुल्क भएपनि आवतजावतमा कम्तीमा दुई लाख रुपैयाँ खर्च हुन्छ । परिवारसँग त्यत्रो पैसा जुटाउने सामर्थ्य छैन । आर्थिक सहयोग जुटाउनका लागि उनले आफ्नो फेसबुकमार्फत सहयोगको अपिल गरेकी छिन् । उनलाई ई–सेवा नम्बर ९८४३६२२९२३ वा बैंक क्युआरमार्फत सहयोग गर्न सकिन्छ । सुशिलाको दक्षता र शौखलाई नजिकबाट बुझेकी अधिवक्ता शोभा बजगाईंले दुई हजार रुपैयाँ सहयोग गरेकी छिन् । 

उनी भन्छिन्,‘पिछडिएको दलित समुदायबाट नेचुरल फोटोग्राफीमा महादेशस्तरकै तालिममा छानिएपनि जाने–आउने भाडाकै कारण रोकिन लागेको देख्दा साह्रै दुःख लागेको छ । सबैले सहयोग गरेमा उनले अवसर पाउँछिन् भनेर मैले पनि थोरै सहयोग गरेकी छु । अरु मनकारी वा सरकारले पनि सहयोग गरुन् भन्ने मेरो आग्रह छ ।’

टिप्पणीहरू