भूकम्पमा ज्यान गुमाएका चिनियाँहरुप्रति श्रद्धाञ्जली

भूकम्पमा ज्यान गुमाएका चिनियाँहरुप्रति श्रद्धाञ्जली
सुन्नुहोस्

चीनको सिचाङ (तिब्बत) स्थित डिङ्गयी काउन्टी केन्द्रबिन्दु बनाएर आज बिहान गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाएका चिनियाँ नागरिकप्रति राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले श्रद्धाञ्जली व्यक्त गरेको छ । प्राधिकरणले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘यो विपद्मा परी मृत्यु भएका चिनियाँ नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ प्राधिकरणले उक्त भूकम्पबाट नेपालमा हालसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ । यद्यपि, भूकम्पको केन्द्र नजिकका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको र त्यसको प्रारम्भिक विवरण संकलन भइरहेको जनाइएको छ । 

भूकम्पका परकम्पहरु निरन्तर आइरहेको र थप आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलाई निर्देशन दिएको समेत प्राधिकरणले बताएको छ ।

‘सबै नागरिकलाई चनाखो रहन तथा कुनै खालको क्षति भएको भए आफ्नो स्थानीय तह, नजिकैका सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
 

टिप्पणीहरू