सिचाङपछि शक्तिशाली भूकम्पको खतरा यता पनि उत्तिकै
चीनको सिचाङ (तिब्बत) मा हिजो बिहान गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पमा हालसम्म १२६ जनाले ज्यान गुमाएका छन् भने झण्डै दुई सय घाइते भएका छन् ।
स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेटमा सिचाङ प्रान्तको सिगात्छेस्थित डिङ्ग्री काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । १० किलोमिटर गहिराईमा गएको भूकम्पको धक्का नेपालसहित भारत, भुटान र बंगलादेशसम्म महशुस गरिएको थियो ।
भूकम्प जाँदा आत्तिएर घरबाट हामफाल्दा काठमाडौंको नागार्जुन–१०, स्युचाटारमा एक र काभ्रेपलाञ्चोकमा एक जना घाइते भएको प्रहरीले जनाएको छ । भूकम्पले सोलुखुम्बु, संखुवासभा, ओखलढुंगा, ताप्लेजुङ, सिन्धुपाल्चोक, रामेछापलगायत पूर्वी भागमा भौतिक क्षति पुर्याएको बताइएको छ ।
हिजो बिहानको झट्कापछि भूकम्पबारे फेरि चर्चा–परिचर्चा हुन थालेको छ । छिमेकी चीनमा भूकम्पले ठूलो क्षति पुर्याउनु र त्यसको धक्का नेपाललगायत विभिन्न देशमा समेत हुनुले चर्चालाई स्वभाविकै मान्न सकिन्छ । तर, मुलुकका पश्चिम भागमा पछिल्ला केही समययता लगातार भूकम्प गइरहनुले महाभूकम्पको पूर्वसंकेत त होइन भन्ने चिन्ता पनि बढाएको छ ।
नेपाल भूकम्पीय जोखिम उच्च भएको देशमध्ये एक हो । पृथ्वीको सतहमुनि रहेको भारतीय प्लेट प्रतिवर्ष उत्तरमा युरेसियन प्लेटतर्फ सरिरहेकाले हिमाली क्षेत्रमा भूकम्पीय दरार पैदा भइरहेको विज्ञहरु बताउँछन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो २१ दिनको अवधिमा नेपालमा ४ म्याग्निच्युडमाथिका भूकम्प १० पटक गएको छ ।
पछिल्लो पटक पुस १९ गते मुगु केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । सोही दिन मनाङ केन्द्रबिन्दु भई ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । पुस १८ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८, पुस १६ गते बैतडी भई ४.६, पुस ११ गते जाजरकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यस्तै, पुस ९ गते दार्जुला केन्द्रबिन्दु भई ४, पुस ५ गते बाजुरा भएर ५.२, पुस ४ गते मनाङ केन्द्रबिन्दु भएर ४.७, पुस ३ गते बझाङ केन्द्रबिन्दु भएर ४.१ र पुस २ गते पनि बझाङ नै भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले बताएको छ । जाजरकोटमा अघिल्लो वर्ष कात्तिक १७ गते ६.४ म्याग्निच्युडको भूकम्प जाँदा एक सय ५७ जनाले ज्यान गुमाए ।
उक्त भूकम्पमा करिब चार सय जना घाइते हुँदा ७० हजारभन्दा धेरैको संख्यामा घर तथा भौतिक संरचनामा क्षति पुगेको थियो । नेपालमा स–साना भूकम्प निरन्तर गइरहन्छन् । कतिपय साना भूकम्पको धक्का महशुस पनि हुँदैन । तर, सानातिना धक्का गइरहनुले त्यो ठाउँ भूकम्पीय जोखिम क्षेत्रमा छ वा त्यहाँ भूकम्पीय शक्ति सञ्चित भइरहेको जनाउने भूगर्भविद्हरु बताउँछन् ।
त्यसो त पश्चिम नेपालको भूसतहमुनि पाँच सय २५ वर्षयता ठूलो भूकम्प गएको छैन । उक्त क्षेत्रमा निरन्तर सानातिना भूकम्प गइरहनुले भूकम्पीय शक्ति सञ्चय भइरहेको अनुमान गर्न सकिन्छ । विगतमा २०७२ सालको महाभूकम्पले पुर्याएको क्षति अहिले पनि ताजै छ । त्यसअघि पनि पूर्वदेखि पश्चिमसम्मै ठूला विनाशकारी भूकम्प गएको इतिहास छ । यसले मुलुकको सबै क्षेत्र भूकम्पीय जोखिममा रहेको देखिन्छ ।
किन जान्छ भूकम्प ?
नेपाल भूकम्पीय जोखिम उच्च भएका मुलुकमध्ये एक हो । कहिले पूर्व, कहिले मध्य र कहिले पश्चिम क्षेत्रमा बारम्बार भूकम्पले धक्का दिँदै आइरहेको छ । भूकम्प किन जान्छ ? भन्नेमा मुलुकको भौगोलिक अवस्थाबारे जानकार हुन आवश्यक छ ।
नेपाल दुई वटा भौगर्भिक प्लेटको बीचमा पर्छ । दक्षिणतर्फ भारतीय प्लेट र उत्तरतर्फ युरेसियन प्लेटको बीचमा नेपालको अवस्थिति छ । हिमालयको बीच भागमा अवस्थित नेपाल दुई वटा प्लेट आपसमा जुधेको ठाउँ हो । यो टकराव क्षेत्र मुलुकको पूर्वदेखि पश्चिमसम्म एकै किसिमको छैन ।
कुनै भागमा दुई वटा प्लेटको जुधाई धेरै फैलिएको छ भने कुनै भागमा थोरै स्थानमा फैलिएको छ । पश्चिम क्षेत्रमा तुलनात्मक रुपमा टकराव क्षेत्र धेरै फैलिएको छ । भारतीय प्लेट उत्तरतर्फ सर्ने र युरेसियन प्लेटको मुनि जाने क्रममा भारतीय प्लेट युरेसियनको मुनि जान नपाउँदा हिमालयमा अवरोध सिर्जना हुन्छ ।
जसले शक्ति खुम्चिन्छ अर्थात् सञ्चित हुन्छ । नेपालको हकमा त्यो खुम्चिने दर प्रतिवर्ष दुई सेन्टिमिटर रहेको छ । यसरी कालान्तरमा शक्ति बढी सञ्चय भएपछि त्यहाँका चट्टानहरुले थेग्न सक्दैनन् । र, चट्टान चिप्लिएर शक्ति निस्किँदा भूकम्प जान्छ ।
पश्चिम नेपालमा ठूलो भूकम्पको सम्भावना छ : भूगर्भ विभाग
मुलुकको पश्चिम भेगमा निरन्तर भूकम्प गइरहँदा खानी तथा भूगर्भ विभागले त्यस क्षेत्रमा ठूलो भूकम्पको सम्भावना रहेको जनाएको छ । विभागकी उपमहानिर्देशक एवम् प्रवक्ता मोनिका झा निकै लामो समयदेखि पश्चिमी भागमा शक्तिशाली भूकम्प नगएकाले त्यहाँ ठूलो भूकम्पको जोखिम रहेको बताउँछिन् ।
उनले भनिन्, ‘नेपाल भूकम्पीय जोखिम भएका देशहरुमध्ये उच्च स्थानमा पर्छ । भूकम्प एउटा नियमित प्रक्रिया पनि हो । पटकपटक भूकम्प जाँदैमा ठूलो भूकम्प जान्छ भन्न सकिँदैन । तर, पश्चिम नेपालमा पछिल्लो समय ठूलो भूकम्पको सम्भावना छ । त्यसकारण सबै सतर्क हुनपर्छ ।’
गतवर्ष असोजमा बझाङ केन्द्रबिन्दु भएर गएको ६.३ म्याग्रिट्युडको भूकम्पपछि पश्चिमी भेगमा हालसम्म ७७ वटाभन्दा बढी भूकम्प भइसकेको जानकारी गराउँदै प्रवक्ता झाले थपिन्, ‘पश्चिममा ठूलो भूकम्प जानसक्ने जोखिम छ तर अहिले गइरहेका ससाना भूकम्पले त्यसबारे भन्न सकिँदैन ।’
भूकम्पीय जोखिम न्यूनीकरण गर्न भूगोलको अध्ययन गरेर कुन ठाउँमा बसोबास गर्न दिने भन्ने नीति तय गर्न आवश्यक रहेको उनी बताउँछिन् । ‘अहिले जोखिमयुक्त क्षेत्रमा समेत संरचना बनाइएको छ । यसबाट भूकम्प जाँदा ठूलो जनधनको क्षति हुनसक्छ । त्यसैले, भूकम्पीय जोखिमसँगै क्षति पनि कम गर्न देशभरका स्थानीय तहले आफ्नो भूगोलको अध्ययन गरी कुन ठाउँमा बस्न मिल्ने र नमिल्ने भनेर तोक्नुपर्छ । यसो गरेमा सम्भावित जोखिम र क्षति धेरै हदसम्म कम हुन्छ,’ उनले भनिन् ।
यता, भूकम्प प्रविधि राष्ट्रिय समाजका उपकार्यकारी निर्देशक डा.रमेश गुरागाईँ भवनलगायत कुनै पनि संरचना बनाउँदा ध्यान दिनुपर्ने बताउँछन् । भूकम्पीय क्षति कम गर्न संरचना निर्माण गर्दा पिलर एकै लाइनमा बनाउनुपर्ने, पिलरको नाप माथिल्लो तल्लाभन्दा भुईँमा बढाउनुपर्ने, ढलानमा गिट्टी, बालुवा, सिमेन्टको उचित प्रयोगसहित डण्डी खिया नलागेको हुनुपर्ने उनको भनाइ छ ।
यस्तै, घरलाई बढीमा तीन तल्लासम्म सीमित गर्नुपर्छ । भवनको दुवै दिशामा कम्तीमा दुईदेखि बढीमा छ वटा नाल राख्नुपर्छ । एउता नालको लम्बाई ४.५ मिटरभन्दा बढी हुनुहुन्न भने घरको लम्बाई चौडाई पनि तीन गुणाभन्दा बढी हुनुहुँदैन । उपकार्यकारी निर्देशक गुरागाईँले भने, ‘पछिल्ला वर्षहरुमा पिलरवाला घर निर्माण गर्ने क्रम बढ्दो छ । तर, सम्भावित जोखिमलाई मध्यनजर नगरी घर बनाउँदा विपदमा ठूलो जनधनको क्षति हुनसक्छ । त्यसकारण पहिल्यै यी कुरामा ध्यान दिनुपर्छ ।’
टिप्पणीहरू