ट्रम्पको शपथग्रहणमा मोदीको सट्टा जय शंकर जाँदै, जेलेन्स्किीलाई पनि निम्तो
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा भारतीय विदेशमन्त्री एस जयशंकर सहभागी हुने भएका छन् । आगामी माघ ७ गते तदनुसार जनवरी २० तारिखका दिन वाशिंगटनस्थित ह्वाइट हाउसमा आयोजना गरिने विशेष समारोहमा भारतीय प्रधानमन्त्रीको सट्टा विदेशमन्त्री सहभागी हुने जनाइएको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा ट्रम्पले गर्ने शपथ ग्रहण समारोहमा विदेश मन्त्रीले भाग लिने निश्चित भएको हो । मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका छन्, ‘ट्रम्प प्रशासनमा भारत र अमेरिकाबीचको सम्बन्ध थप बलियो हुने छ ।’
उक्त समारोहमा उपस्थितिका लागि चिनियाँ राष्ट्रपति सि चिनफिङलाई पनि आमन्त्रण गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, चिनियाँ पक्षले हालसम्म त्यसबारे औपचारिक रुपमा केही बताएको छैन । सिएनएनले चीनबाट राष्ट्रपतिको सट्टा उच्चस्तरीय अधिकारीहरु सम्मिलित टोली शपथ ग्रहण समारोहमा सहभागी हुने अनुमान गरेको छ ।
अन्य आमन्त्रितहरुमा अर्जेन्टिनाका राष्ट्रपति हाभिएर मिलेइ, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, एलसाल्भाडोरका राष्ट्रपति नायिब बुकेले, हंगेरीका प्रधानमन्त्री भिक्टोर ओर्बान, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मुख्य हुन् ।
यी बाहेक विश्वकै धनी एलन मस्क, भारतीय मुलका अमेरिकी व्यवसायी विवेक रामास्वामी पनि समारोहमा उपस्थित हुँदै छन् ।
टिप्पणीहरू