पारिको पुल भाँचिँदा वारि चिन्ता
पूर्वी नवलपरासीको दुम्किबासमा केही दिनअघि पूर्व–पश्चिम राजमार्गको एउटा पुल भाँचियो । अत्यधिक भार बोकेको भारतीय लरीले ठक्कर दिँदा थेग्न नसकेर विनयी खोलाको पुल भाँचिएको बताइन्छ । हाललाई डाइभर्सबाट सवारी आवतजावतको व्यवस्था मिलाइएको छ ।
यता, चितवन र पूर्वी नवलपरासी जोड्ने नारायणीपुल पनि पुरानो भएर त्यसको विकल्प खोजिएको धेरै भइसकेको छ । बल्लतल्ल नयाँ पुलको ठेक्का सम्झौता भएपछि गत वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट शिलान्यास समेत गरियो । तर नौ महिना बितिसक्दा निर्माणस्थलमा कुनै सुरसार देखिँदैन । ‘निर्माण कम्पनीले ठेक्काको डिजाइन नै पूरा गरेर ल्याएको छैन’, सडक डिभिजन कार्यालय भरतपुरका एकजना कर्मचारीले भने ।
डिजाइन त बनेको हो तर त्यसमा संशोधन गर्नुपर्ने भएको अर्का कर्मचारीले बताए । ‘नारायणी नदीमा आएको पछिल्लो ठूलो बाढीले गर्दा डिजाइन रिभ्यु भइराछ’, सडक डिभिजन भरतपुरका इन्जिनियर सन्तोष भण्डारीले भने, ‘डिजाइन एण्ड बिल्टको ठेक्का हो ।’
बनाउन लागिएको नयाँ पुल सामान्यभन्दा फरक हुने भएकाले डिजाइनमा समय लागेको कर्मचारीहरुको दाबी छ । नारायणी नदीमा लगभग कर्णालीको चिसापानीमा जस्तै नयाँ ढंगको टावरसहितको सौन्दर्यकृत सिग्नेचर पुल बनाउन लागिएको हो । त्यस किसिमका पुलविज्ञ हामीसँग नहुँदा डिजाइनको लागि विदेशी कन्सल्टेन्ट हायर गर्नुपरेकोमा इण्डियन कन्सल्टेन्सीबाट डिजाइन बनाइएको बताइन्छ । यतिखेर चाइनिज कन्सल्टेन्टबाट प्रुफ चेक गर्ने काम भइरहेको उनीहरु बताउँछन् ।
‘पुल बनाउने काम जटिल विषय हो, हतारमा गर्ने कुरा त होइन तर एक वर्षभित्र डिजाइनको सबै काम सक्नुपर्ने हो’, इञ्जिनियर भण्डारीले भने, ‘काम गर्ने कम्पनी नै हो । अन्त पनि राम्रै गरेको हुँदा नहोला भन्ने हामीलाई लाग्दैन ।’
पछिल्लो ठूलो बाढी, नेभिगेसन क्लियरेन्स र एभिएसन क्लियरेन्सको कारण डिजाइन पुनर्विचार गर्नुपरेकाले केही ढिलाइ भएको निर्माण कम्पनीका आधिकारिक व्यक्ति मन्जिल मिश्र बताउँछन् । जेहोस्, तोकिएको अवधिमै पुल निर्माण सम्पन्न हुनेमा उनी विश्वस्त देखिन्छन् ।
भरतपुर र गैंडाकोट जोड्ने ४२० मीटर लामो सिग्नेचर ब्रिज बनाउन तुँदी कन्स्ट्रक्सन प्रा.लि.सँग २०८० जेठमा सम्झौता भएको हो । चार वर्षभित्र निर्माण कार्य सम्पन्न गर्न एक अर्ब ६८ करोड रुपैयाँको ठेक्का लगाइएको छ । डबल लेनको पुलमा गाडी हिँड्ने भाग साढे सात मिटरको हुने भनिएको छ । छेउछेउमा दुईटा र बीचमा दुईवटा गरेर जम्मा चार वटामात्र पिल्लर हुने र तीन स्पानको पुल बन्नेछ । शुरुमा पुरानो पुलबाट सात मिटरको दूरीमा नयाँ पुल बनाउने भनिए पनि अब नौ मिटरको दूरी रहने देखिन्छ ।
पुल निर्माणका लागि गैंडाकोटतर्फ क्याम्प व्यवस्थित गर्ने, मेसिन र निर्माण सामग्रीहरु ल्याउने र तयारीको कार्य भइरहेको बताइन्छ । क्याम्पमा भेटिएका एक मजदूरले अर्काे महिनादेखि फिल्डमा काम थाल्ने तरखर भइरहेको उल्लेख गरे । ‘छेउमा ट्रान्सफर्मरहरुले खन्न अवरोध गरेकोले विद्युतमा कुरा गरिसक्या छौं’, सडक डिभिजनका कर्मचारी भन्छन्, ‘नयाँ पुल बन्दा अहिले गैंडाकोटतर्फ पुलको मुखमा रहेको ट्राफिक प्रहरी बिट नै हटाउनुपर्ने हुन्छ । त्यो हटाउन पनि लेखिसक्या छौं ।’ अबको एक महिनामा डिजाइन फाइनल भएर त्यसपछि फाउन्डेसनको काम अगाडि बढ्ने सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर नारायणप्रसाद लामिछानेको भनाइ छ ।
टिप्पणीहरू