मार्शल ल घोषणापछि विवादमा परेका राष्ट्रपति सिआईओको नियन्त्रणमा

मार्शल ल घोषणापछि विवादमा परेका राष्ट्रपति सिआईओको नियन्त्रणमा
सुन्नुहोस्

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । भ्रष्टाचार अनुसन्धान कार्यालय (सिआईओ)को टोली उनलाई आज बिहान निवासबाटै नियन्त्रणमा लिएको हो ।  

राष्ट्रपति योलले गत डिसेम्बर ३ मा सैनिक कानुन (मार्शल ल) घोषणा गरेका थिए, त्यसयता उनी लफडामा पर्दै आएका छन् । त्यतिबेला आफ्नै पार्टीका नेताहरुको असमर्थन र सर्वत्र आलोचना भएपछि योलले ६ घण्टामै उक्त कानुन फिर्ता लिन बाध्य भएका थिए । सोही प्रकरणमा सिआईओले उनीमाथि अनुसन्धान गरिरहेको छ । 

डिसेम्बर १४ मा योलविरुद्ध त्यहाँको संसदमा महाअभियोगको प्रस्ताव पेश भएपछि उनी पदबाट निलम्बित छन् । यद्यपि, उनी राष्ट्रपति कार्यालयमै बस्दै आएका थिए । 

सिआईओले आज दोश्रो प्रयासमा राष्ट्रिपति योललाई पक्राउ गर्न सफल भएको हो । यसअघि पक्राउ गर्ने प्रयास गरिएकोमा राष्ट्रपति सुरक्षा दलका सेना र समर्थकहरुले अवरोध सिर्जना गरेपछि सिआईओको टोली पछि हटेको थियो । 

‘अवैध अनुसन्धान’

पक्राउ परेपछि राष्ट्रपति योलले एक भिडियो सन्देशसमेत जारी जारी गरेका छन् । उक्त भिडियो उनले पक्राउ गर्नुअघि नै रेकर्ड गरेर तयार पारेको अन्तराष्ट्रिय सञ्चारमाध्यमकाे दावी छ ।

भिडियोमा उनले आफूमाथि सिआईओको अनुसन्धानलाई ‘अवैध’ भनेका छन् । उनले गैरकानुनी ढंगले गरिएको अनुसन्धान खारेज गर्न माग गर्दै भनेका छन्, ‘यो देशमा कानुन पूरै बिग्रिएको छ, तर म कानुनी प्रणालीको रक्षा गर्ने राष्ट्रपति हुँ ।’ 

सिआईओले ४८ घण्टासम्म हिरासतमा राखेर योलसँग सोधपुछ गर्ने अधिकार राख्छ । त्यो भन्दा बढी समय राख्नुपर्नेमा अदालतबाट म्याद थपको अनुमति लिनुपर्ने व्यवस्था छ ।

 

टिप्पणीहरू