‘निलो क्रान्ति होइन, स्वतन्त्र न्यायपालिका चाहियो’
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरमा भएको कुटपिटको विरोधमा कानुनका विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसबाहिर विरोध प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले ‘मुद्दा लड्नु कानुन व्यवसायीको पेशागत धर्म हो’, ‘यो अदालती स्वतन्त्रता विरुद्धको प्रहार हो’, ‘निलो क्रान्ति होइन, स्वतन्त्र न्यायपालिका चाहियो’, ‘वकिलमाथिको आक्रमण अमान्य छ’, लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जाहेरकर्ताको तर्फबाट बहस सकेर बाहिर निस्किने क्रममा हिजो अपरान्ह त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा कुटपिट भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिवादी रहेको सहकारी ठगीको मुद्दामा पीडितको तर्फबाट वकालत गरैकै आधारमा आफूमाथि कुटपिट भएको त्रिपाठीको भनाइ छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीमाथि कुटपिट गरेको आरोपमा दोलखाका ललित केसीलाई पक्राउपछि अनुसन्धान भइरहेको जनाएको छ । त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा विभिन्न संघसंगठनले विज्ञप्ति जारी गरेर आपत्ति जनाएका छन् ।
टिप्पणीहरू