बूढानीलकण्ठमा पहिले ब्रिफिङ, पछि निर्णय

बूढानीलकण्ठमा पहिले ब्रिफिङ, पछि निर्णय

प्रतिनिधिसभाका दुई ठूला दल मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षाकृत काम गर्न नसकेको जनगुनासो बढिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीको प्रतिनिधित्व गरेर सरकारमा सामेल मन्त्रीहरुलाई आफ्नै निवास बूढानिलकण्ठमा बोलाएर छलफल गरे । झन्डै पाँच घण्टासम्म चलेको बैठकमा मन्त्रीहरुले छ महिने उपलब्धिको चर्चा गर्दै मन्त्रालयमा भएका समस्याबारे पार्टी नेतृत्वलाई जानकारी गराएका थिए । 

बैठकमा मन्त्रीहरुले विभिन्न कारणले सोचेजस्तो काम गर्न नसकिएको ब्रिफिङ गरेका छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयले सोचेअनुसारको काममा  तीब्रता दिन नसकेको बताए । छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरुले सुझाव दिएको उनले जानकारी दिए । 

‘के राम्रा काम भए, कसरी प्रभावकारी बनाउने, कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने काम भएको छ’, मन्त्री चौधरीले भने, ‘मन्त्रालयको ब्रिफिङ भएको छ । उहाँहरुले सुझाव पनि दिनुभएको छ ।’

उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयले निरन्तर काम गरिरहेको दाबी गर्दै सरकारबारे बाहिर गरिएका मूल्यांकन सही नरहेको बताए । कृषिमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको सहजताका लागि बजेट कम भएकाले यसमा समन्वय गरिदिन सभापतिको ध्यानाकर्षण गराएका थिए । 

गृहमन्त्री रमेश लेखकले सरकारमा कुनै समस्या नरहेको बताउँदै सभापतिसँग आफ्नो मन्त्रालयका कामहरु अझ कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको जानकारी दिए । एमाले र काँग्रेसबीच बनेको सात बुँदे सहमतिअनुसार सत्ता समीकरणलाई अघि बढाउने र राम्रो ढंगबाट जनतामा सेवा प्रवाह गर्ने विषयमा छलफल केन्द्रित रहेको उनको भनाई छ । 

‘हामीबीच भएका सात बुँदे सहमतिअनुसार यो समीकरणलाई अघि लाने गरेर काम गर्ने तथा सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढी भन्दा बढी सेवा प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्ने विषयमा छलफल भएको छ,’ गृहमन्त्री लेखकले भने ।

मन्त्रीहरूको ब्रिफिङ सुनेपछि देउवाले सात बुँदे सहमति सफल बनाउनेगरी काम गर्न निर्देशन दिएका छन् । बैठकमा भएका छलफल र निर्णयबारे जानकारी दिंदै संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले मन्त्रीहरुलाई आ–आफ्नो मन्त्रालयको कार्य क्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम समयमा सम्पन्न गर्न निर्देशन दिएको बताए ।

सरकारलाई प्रभावकारी र सफल बनाउन मन्त्रीहरुलाई सक्रिय बनाउने विभिन्न योजना र कार्यक्रम अघि सारिएको छ । सोअन्तर्गत मन्त्रीहरुले हप्ताको दुई दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने सुझाव लिने र बाँकी पाँच दिन सम्पूर्ण रुपले मन्त्रालयको काममा केन्द्रित हुनुपर्नेछ । 

त्यस्तै, सबै तहका पार्टी कमिटीमार्फत केन्द्रीय कार्यालयमा प्राप्त नागरिकका सुझाव र मागहरुका सन्दर्भमा महिनामा एक पटक फरक दिनमा फरक मन्त्री उपस्थित भएर छलफल गर्ने र र उपयुक्त सुझाव कार्यान्वयनमा लैजाने भनिएको छ । मन्त्रीहरुले सांसदहरुका सल्लाह, सुझाव र जनताका अपेक्षालाई विशेष ध्यानमा राखी काम अघि बढाउन संसदीय दलसँग समन्वय गर्नुपर्नेछ । 

चालू आर्थिक वर्षको बजेट तथा वार्षिक विकास कार्यक्रममा समावेश भएका तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेण्डर हुन नसकेका, निर्माण शुरु भएका तर अपेक्षित गतिमा काम नभएका विकास योजनाहरु निर्धारित समयमा सम्पन्न गर्न आवश्यक पहलकदमीका लागि पनि मन्त्रीहरुलाई देउवाले निर्देशन दिएका छन् ।

टिप्पणीहरू