अर्को हप्ता बहादुर भवन रित्तै
निर्वाचन आयोगका पदाधिकारीहरु आगामी साता भारत जाने टुंगो लागेको छ । जनवरी २२ देखि २६ तारिखसम्म राजधानी नयाँ दिल्लीमा हुन लागेका दुई छुट्टाछुट्टै महत्वपूर्ण कार्यक्रममा सहभागी हुन प्रमुख आयुक्तसहित आयुक्तहरु जान लागेको बुझिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालगायत आयुक्तहरुको विदेश भ्रमणको स्वीकृति सम्भवतः भोलि सोमबारको क्याबिनेट बैठकले गर्दै छ । भारतीय निर्वाचन आयोगले औपचारिक निम्तो र हवाई टिकटसहित कार्यक्रम पठाइसकेकाले सरकारले नयाँ दिल्ली जान स्वीकृति दिने पक्का छ ।
आयोग स्रोतका अनुसार जनवरी २३ देखि २५ सम्म तीन दिन नयाँ दिल्लीमा विश्वका ४२ राष्ट्रका निर्वाचन आयोगको प्रतिनिधित्वमा एउटा सम्मेलन हुँदैछ । त्यसमा सहभागी हुन निम्तो प्राप्त भएको हो । २६ तारिखमा भारतको गणतन्त्र दिवससङ्गै निर्वाचन दिवस पनि मनाइन्छ । उक्त कार्यक्रममा सहभागी हुन र गणतन्त्र दिवसमा आयोजित परेडमा सहभागी गराउन भारतीय निर्वाचन आयोगले तयारी गरेको बुझिएको छ ।
आयुक्त रामप्रसाद भण्डारी भने अस्ति मुम्बई गएकाले नयाँ दिल्लीको उतै उतै सहभागी हुने या सोझै फर्कने टुङ्गो छैन । निजी बिदा लिएर भण्डारी सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल र अख्तियारका आयुक्त किशोर सिलवालसहित उता गएका छन् ।
टिप्पणीहरू