अमेरिकामा टिकटक हिजो बन्द,आजै खुल्ला
कार्यकालको अन्तिममा अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाएको चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध आज हटाईंदै छ । राष्ट्रपति बाइडेनले एक दिन कार्यकाल बाँकी छँदा हिजो उक्त घोषणा गरेका हुन् ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज सोमबार पदभार ग्रहण गर्दैछन् । शपथपछि राष्ट्रपति ट्रम्पले विशेषाधिकार प्रयोग गर्दै टिकटकमाथिको प्रतिबन्ध खुलाउने बताएका छन् ।
अमेरिकी नयाँ पुस्तामाझ लोकप्रिय सामाजिक टिकटकले आफूलाई पुनः अमेरिकी राष्ट्रपतिमा निर्वाचित गराउन सहयोग पुर्याएको उनको भनाई छ । अमेरिकामा टिकटकले वार्षिक एक अर्ब ८० करोड अमेरिकी डलरको कारोबार गर्दै आएको छ ।
शपथग्रहण अघिल्लो रात राजधानी वासिङ्ग्टन डिसीमा समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले आफूलाई टिकटिकको समर्थकको रुपमा प्रस्तुत गरेका छन् । उनले भने, ‘आजदेखि टिकटक पुनः पहिलेकै अवस्थामा फर्किंदैछ । टिकटिककै कारण ३६ प्रतिशत युवाको मत प्राप्त गरेको थिएँ ।’
एकातिर चिनियाँ सामाजिक सञ्जालको चर्को समर्थन गर्ने उनले शपथलगत्तै चीनबाट आयात हुने सामानमा भने कर बढाएर ६० प्रतिशत पुर्याउने चेतावनी दिँदै आएका छन् । टिकटक आधा अमेरिकी जनसंख्याले प्रयोग गर्दछन् ।
भिडियोको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
https://x.com/i/broadcasts/1gqxvNNDjjpxB
टिप्पणीहरू