भीम रावलको क्षतिपूर्ति वामदेवलाई भित्र्याएर

भीम रावलको क्षतिपूर्ति वामदेवलाई भित्र्याएर
सुन्नुहोस्

कुनै समय नेपाली वाम आन्दोलनको 'बाघ' मानिएका वामदेव गौतम राष्ट्रिय राजनीतिमा सुपरिचित नाम हो । धेरैपटक उपप्रधानमन्त्री एवं गृहमन्त्री भएका उनी कम्युनिष्ट आन्दोलनमा अनुभवी र पाका नेता पनि हुन् । तर,दशकौँ लामो राजनीतिक जीवन बिताएको एमाले छोडेर 'घर न घाट' को अवस्थामा पुगेका गौतम केही वर्षयता अस्तित्व रक्षाको संकटबाट  गुज्रिरहेका छन् । तत्कालीन नेकपा विभाजनपछि लामो समय 'यता न उता' हुँदै 'राष्ट्रिय एकता अभियान' चलाइरहेका उनी पुन: एमालेमै फर्किन लागेको र आज बस्ने एमाले सचिवालय बैठकले उनको ब्यवस्थापनसम्वन्धी निर्णय गर्ने तयारी छ । 

त्यसो त,अस्थिर एवं ढुलमुले चरित्र वामदेवको अर्को विशेषता हो । एमाले हुँदै नेकपाभित्र चलेका दुई लाइन संघर्षमा उनको भूमिकालाई धेरैले 'पिँध नभएको लोटा' को संज्ञासमेत दिएका थिए । एकीकृत समाजवादीमा समाहित हुने घोषणा गरेको दुई साता नपुग्दै एमालेमा फर्कने उनको निर्णयलाई ढुलमुले चरित्रकै निरन्तरताका रुपमा हेरिएको छ । जे होस्,कुनै बेलाका हक्की नेता गौतमले राजनीतिक जीवनको उत्तरार्द्धमा दलविहीनताको स्थितिबाट मुक्ति पाउने भएका छन् ।

'वामदेवले सम्मानजनक भूमिका चाहिन्छ भन्नुभयो,ओलीले तपाईंलाई अपमान गरौँला त,मेरो साथी  हैन र तपाईं ! भनेपछि फुर्के स्वभावका वामदेव उत्साहित हुनुभएको छ । तर,उहाँ वामदेव हो,प्रवेश नगर्दासम्म के हुन्छ भन्न सकिंदैन ।' 

आफू नेतृत्वको पार्टी "एकता राष्ट्रिय अभियान' ले अपेक्षित गति नलिएपछि गौतम केही वर्षदेखि एमालेमै फर्किन प्रयासरत थिए । सार्वजनिक रुपमै 'केपी ओलीले बोलाए जान्छु' भन्दै आएका उनको एमाले अध्यक्ष केपी शर्मा ओलीसँग केही चरण छलफल पनि भयो । तर, उनलाई पार्टीमा भित्र्याउन ओली तयार भएनन् । त्यसपछि एकीकृत समाजवादीमा मिसिने तयारी अघि बढाए । दुबै पार्टीले कार्यदल बनाएर एकता वार्ता गरिरहेका बेला एमाले केन्द्रीय कमिटी बैठकले विभिन्न समय पार्टी छोडेर गएकाहरुलाई मूल घरमा फर्किन आह्वान गरेपछि एकाएक गौतमको मन मोडियो । अन्तत: गत शुक्रबार ओलीसँगको दुई घण्टा लामो भेटवार्ताले एमाले प्रवेशको ढोका खोल्यो । 

ओलीले फोन गरेर बोलाएपछि बालुवाटार पुगेका गौतमले पार्टीमा सम्मानजनक भूमिका मागेका थिए । तर,एमाले प्रवेश गराउन तयार भए पनि उनको जिम्मेवारीबारे ठोस सहमति भएन । ओलीले छिनाएर कुरा नगरेपछि निराश भएर फर्किएका गौतमले बाहिर भने 'एमालेमा जाने पक्का भएको' प्रतिक्रिया दिए । एक जना एमाले सचिवका अनुसार अस्ति बिहान ओलीसँगको फोन संवादपछि बल्ल सहमति जुटेको हो । दुई नेताको फोनवार्ताबारे जानकार उनले भने, 'वामदेवले सम्मानजनक भूमिका चाहिन्छ भन्नुभयो,ओलीले तपाईंलाई अपमान गरौँला त,मेरो साथी  हैन र तपाईं ! भनेपछि फुर्के स्वभावका वामदेव उत्साहित हुनुभएको छ । तर,उहाँ वामदेव हो प्रवेश नगर्दासम्म के हुन्छ भन्न सकिंदैन ।'

सुदूरपश्चिममा भीम रावलले पुर्याउने नोक्सानीको भर्पाइ गराउन ओली वामदेवलाई पार्टीमा भित्र्याउने निर्णयमा पुगेको बताइन्छ । 

वामदेवलाई लामो समय पन्छाउँदै आएका ओली एकाएक पार्टीमा भित्र्याउन कसरी तयार भए ? यसका पछाडि केही निश्चित राजनीतिक कारण रहेको नेताहरु बताउँछन् । खासगरी डाक्टर भीमबहादुर रावल पार्टीबाट निकालिएपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा धेरथोर सांगठानिक क्षति हुने एमालेको आकलन छ । अर्कोतिर,पश्चिममा बाहिर देखाउनका लागि 'हाइट भएको नेता' को अभाव पनि छ । जिल्ला अधिवेशन वा आमसभामा पठाउने नेतासमेत पूर्वबाट आयात गर्नुपर्ने स्थितिमा भूमिगतकालदेखि नै पश्चिम क्षेत्रमा पार्टीको जिम्मेवारी सम्हालेका वामदेवलाई भित्र्याउँदा त्यसले सकारात्मक सन्देश जाने र कार्यकर्तापंक्ति रावलतिर जानबाट रोकिने विश्वास नेताहरुको छ । मूलत: सुदूरपश्चिममा भीम रावलले पुर्याउने नोक्सानीको भर्पाइ गराउन ओली वामदेवलाई पार्टीमा भित्र्याउने निर्णयमा पुगेको बताइन्छ । 

वामदेवलाई एमालेमा स्वागत गर्न ओली तयार हुनुलाई एकीकृत समाजवादीमा जानबाट रोक्ने रणनीतिका रुपमा पनि विश्लेषण गरिएको छ । नेकपा एसमा वामदेवको प्रवेशले ठूलो सांगठनिक प्रभाव नपारे पनि त्यसले दिने राजनीतिक सन्देशको छुट्टै अर्थ रहन्छ । पार्टी नेतृत्वविरुद्ध घेराबन्दी भैरहेको बताउँदै आएका ओलीलाई थाहा छ, वामदेवलाई एमालेमा नल्याउँदा समाजवादीको मन्च आफूविरुद्ध प्रयोग हुनसक्छ ।

'अहिलेसम्म पो ठाउँ नपाएर चुपचाप बसेका छन्, समाजवादीमा गए भने केपी ओली बेइमान हुन् भनिरहन्छन् । त्यो हल्ला गर्ने वातावरण बनाइदिनु भन्दा बरु यतै ल्याएर डम्पिङ्ग गरिदिँदा लाभकर हुने बुझाइले पनि काम गरेको हो', एमाले नेता भन्छन्, आखिर वामदेवसँग अध्यक्ष र प्रधानमन्त्रीको कुर्सी हल्लाउने सामर्थ्य छैन । केही सम्मान दिएर पार्टीमा ल्याउँदा घाटा हुँदैन भने किन बाहिर विरोधको मौका दिने ?'

वामदेवको प्रवेशले विभिन्न समय फुटेर गएका कार्यकर्तालाई एमालेमा ठाउँ छ भन्ने सन्देश प्रवाह गर्ने भएकाले पार्टी सुदृढ हुने विश्वास एमालेको छ । सोहीअनुसार उनलाई वाम एकताको पक्षमा वातावरण बनाउन कार्यदल संयोजकको जिम्मेवारी दिने सहमतिसमेत भएको छ । 

वामदेवप्रति ओली सकारात्मक हुनुको अर्को कारण हो,विगतको सम्बन्ध । ०७० सालमा तत्कालीन अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेतामा पराजित गर्नु नै एमालेमा ओली उदयको प्रस्थान बिन्दु मानिन्छ । त्यतिबेला वामदेवले निर्णयक भूमिका नखेलेको भए उनी न दलको नेता चुनिन्थे न प्रधानमन्त्री । नवौँ महाधिवेशनमा पनि पूर्व मालेका ३०० प्रतिनिधिले भोट नखन्याएको भए जित कठिन थियो । त्यतिखेर अध्यक्षको लागि भएको निर्वाचनमा माधव नेपाललाई ओलीले जम्मा ५३ मतले पराजित गरेका हुन् । 

'ओलीको कोर टिम जसले वामदेवको महत्व बुझेको छ उनीहरु शुरुदेखि नै नकारात्मक थिएनन् । खुशी पारिराख्यो भने चलायमान हुने नेता हुन्,छोड्न हुँदैन भन्ने नै थियो', उनै एमाले नेता भन्छन्, 'अहिले पार्टीमा भित्र्याउन खोजेको पनि वामदेवको मायाले हैन हिजो ओलीलाई लगाएको गुन सम्झेर हो ।'

यस प्रकरणमा बिचौलिया दिपक भट्टको पनि राम्रै योगदान रहेको एमाले श्रोत बताउँछ ।

टिप्पणीहरू