अछामका २ किशोरीको मृत्युमा २ जना पक्राउ

अछामका २  किशोरीको मृत्युमा २ जना पक्राउ

 -रमेश रावत 
अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । समातिएका ढकारी गाउँपालिका ३ का चक्र बुढा र कमल बुढा दुवै जना २० वर्षभन्दा कम उमेरका हुन् । 

सोही गाउँपालिका- ८ की १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिवार बेलुकी शव फेला परेको थियो । 

शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्क विहीन भएका थिए । शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरे । परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनका लागि स्थानीय प्रशासनसँग माग गरेलगत्तै  शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेका छन् । मृतक दुवै जना एउटै परिवारका हुन्न । सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन् । 

मृतक सरस्वतीकी आमा तारा खड्काले छोरीलाई कसैले मारेको दाबी गरेकी छन् । उनले सत्य तथ्य छानबिनका लागि  घटनास्थल पुग्नुभएका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालसमक्ष आग्रह गरिन् । 

मृतक ईशराको भाउजू कृष्णा खड्काले दुवै जनाको हत्या भएको दाबी गर्दै पक्राउ गर्नुपर्ने मागसहित भनिन् ‘एक जना मात्र भए पनि भवितव्य भयो भन्थ्यौँ होला । दुई जना एकै प्रकारले कसरी मरे ? घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्नु पर्छ ।’

घटनामा संलग्न भएको हुन सक्ने भन्दै परिवारका सदस्यले प्रहरीलाई एक जनाको विवरण दिएको थियो । सोही जानकारीका आधारमा दुई जनालाई नियन्त्रणमा लिइएको छ । मृतककी भाउजूले शङ्कास्पद भनेकै व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

यतिबेला दुबै शवलाई पोस्टमार्टमका लागि नेपालगन्ज लैजाने तयारी भएको छ ।

टिप्पणीहरू