भन्सार छलेर ल्याइएका लाखौँको सामान लिलाम हुँदै

भन्सार छलेर ल्याइएका लाखौँको सामान लिलाम हुँदै

राजस्व अनुसन्धान विभागले भन्सार छलिका बरामद सामग्री लिलामीका लागि सूचना निकालेको छ । 

विभिन्न भन्सार कार्यालयले बरामद गरेको समान लिलाम बिक्रीका निम्ति विभागले आज सार्वजनिक सूचना निकालेको हो । नियमानुसार दर्ता भएका इच्छुक फर्म तथा कम्पनीले १५ दिनभित्र सिलबन्दीसहित दरभाउपत्र पेश गर्न आह्वान गरिएको छ । 

सूचनामा जिन्स पाइन्ट १०४ पिस, सारी १३८, स्वीटर १६०, कुर्था सुरुवाल २५ हजार ८७३, टप्स ९३३, ज्याकेट २०९, कस्मेटिक १५ सय, एयरबर्ड दुई हजार ३४० थान तथा जुत्ता ६४ र चप्पल ८० जोर लिलाम बिक्री गर्न लागिएको उल्लेख छ । 

त्यस्तै, स्मार्ट वाच दुई हजार २९३ थान, मोबाइल डिस्प्ले एक हजार ९९०, मोबाइल १०५ नं.को नोकिया दुई सय थान, ट्रेस मेटिरियल ८७० मिटर र टिभी (६५ इन्च) एक थान बिक्री गर्न लागिएको विभागले बताएको छ । टेम्पर ग्लास दुई हजार २४२ र मोबाइल कभर एक हजार ४७४ केजी पनि लिलामीमा रखिएको छ । 

‘हाल कार्यालयको कब्जामा रहेको तपसिल बमोजिमका मालसामानहरु जेजस्तो अवस्थामा छन्, सोही अवस्थामै सिलबन्दी दरभाउपत्रको माध्यमबाट लिलाम बिक्री गर्नुपर्ने भएकोले नियमानुसार दर्ता भएका इच्छुक फर्म तथा कम्पनीबाट सिलबन्दी दरभाउपत्र आह्वान गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३२ तथा नियमावली, २०७० को नियम २६ बमोजिम लिलाम गर्न यो सूचना प्रकाशित गरिएको छ,’ विभागले भनेको छ । 

विभागले लिलाम बिक्री गर्न लागेको सामानको न्यूनतम मूल्य ५३ लाख ६२ हजार ४६६ रुपैयाँ तोकेको छ । साथै, लिलाम बिक्रीसम्बन्धी शर्त तथा अन्य विवरणका विभागको वेबसाइटबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

 

टिप्पणीहरू