ट्रम्प आएपछि पहाडको नामसमेत परिवर्तन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गरेको निर्णयलाई गुगल म्याप्सले पनि साथ दिने भएको छ । गुगल म्याप्सले ‘गल्फ अफ मेक्सिको’ को नाम फेरेर ‘गल्फ अफ अमेरिका’ राख्ने भएको छ ।
गत शुक्रबार ट्रम्प प्रशासनले ‘गल्फ अफ मेक्सिको’ को नाम फेरेर ‘गल्फ अफ अमेरिका’ राख्ने घोषणा गरेको थियो । उक्त घोषणाले विश्व राजनीतिसँगै मेक्सिकोमा हलचल मच्चाइरहेका बेला हिजो गुगलले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अमेरिकी सरकारको आधिकारिक म्यापहरु अद्यावधिक भएपछि गुगलले पनि गल्फ अफ अमेरिकालाई देखाउनेछ । यो नयाँ कुरा होइन,लामो समयदेखिको अभ्यास हो ।’
अहिले भने गुगल र एप्पलको लोकप्रिय म्याप सेवाहरुले पुरानै नाम देखाइरहेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिनै कार्यकारी आदेश जारी गर्दा उत्तर अमेरिकाको सबैभन्दा अग्लो पहाडको नाम परिवर्तन गर्ने घोषणा गरेका थिए । त्यो पहाडको नाम पनि गुगल म्याप्सले परिवर्तन गरेको छ ।
अमेरिकी भू–गर्भ सर्वेक्षणमार्फत् आधिकारिक म्यापहरु अद्यावधिक गर्दै लैजाने अमेरिकी आन्तरिक विभागले जनाएको छ । सरकारले आधिकारिक रुपमा ‘गल्फ अफ मेक्सिको’ को नाम परिवर्तन गरेपछि गुगलले तुरुन्तै लागू गर्ने गुगल कम्पनीका एक अधिकारीले जनाएका छन् ।
ट्रम्पले दोस्रो कार्यकालको पहिलो दिनै कार्यकारी आदेश जारी गर्दा उत्तर अमेरिकाको सबैभन्दा अग्लो पहाडको नाम फेर्ने घोषणा गरेका थिए ।
गुगल म्याप्स अर्बौ प्रयोगकर्ताहरुको लागि भौगोलिक जानकारीको महत्वपूर्ण स्रोत हो । गुगलका अनुसार नाम परिवर्तनपछि अमेरिकी प्रयोगकर्ताहरुले ‘गल्फ अफ अमेरिका’ देख्नेछन् भने मेक्सिकोमा रहेका प्रयोगकर्ताहरुले ‘गल्फ अफ मेक्सिको’ को नाम देख्नेछन् ।
गुगल स्रोतका अनुसार विश्वभरका अन्य स्थानका प्रयोगकर्ताहरुले भने दुवै नाम सँगसँगै देख्नेछन् । यी प्रयोगकर्ताहरुका लागि पहिले ‘गल्फ अफ मेक्सिको’ नाम देखाइनेछ भने त्यसपछि कोठाभित्र ‘गल्फ अफ अमेरिका’ को नाम राखिनेछ ।
तर, गुगल कम्पनीका प्रवक्ताले यी दुई नामको क्रमबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् । त्यस्तै, एप्पलका प्रतिनिधिहरुले पनि आफ्नो म्याप्समा ‘गल्फ अफ अमेरिका’ को नाम लागू गर्ने वा नगर्नेबारे कुनै प्रतिक्रिया दिएका छैनन्
गुगल म्याप्सले विशेष गरी भू–राजनीतिक विवाद भएका स्थानमा प्रयोगकर्ताको स्थानअनुसार एउटै ठाउँका लागि फरक नाम प्रयोग गर्ने गरेको छ । जस्तै साउदी अरब र इरानबीचको खाडीको नामलाई लिएर दशकदेखि विवाद रहिआएको छ । अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरूका लागि गुगलले सो खाडीलाई ‘पर्सियन गल्फ (अरबियन गल्फ)’ भनेर लेख्छ । तर, खाडी नजिकका अरब देशहरुमा गुगल म्याप्सले यसलाई ‘अरबियन गल्फ’ नै भनेर देखाउँछ ।
टिप्पणीहरू