आर्थिक चलखेलमा उपकुलपति नियुक्तिको आरोप, अख्तियारद्वारा छानबिन
1.31K shares
![आर्थिक चलखेलमा उपकुलपति नियुक्तिको आरोप, अख्तियारद्वारा छानबिन](https://janaaastha.prixacdn.net/media/albums/akhity_QcLSADZ7sx.jpg)
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । लामिछानेसँग उपकुलपतिको निम्ति आवश्यक शैक्षिक योग्यता नरहेको र तत्कालीन स्वास्थ्यमन्त्रीसँग मिलेमतोमा नियुक्ति लिएको उजुरी परेपछि आयोगले अनुसन्धान थालेको बताइन्छ ।
२०७८ फागुनमा तत्कालीन स्वास्थ्यमन्त्री तथा प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले उपकुलपतिका लागि आवेदन दिएका १६ आवेदकमध्ये ऋषिकेश श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेकोमा लामिछाने चार वर्षका लागि उपकुलपति नियुक्त भएका थिए । तर उतिबेला स्वास्थ्यमन्त्री खतिवडाले कार्यविधि मिचेर लामिछानेलाई नियुक्ति दिएको उजुरीमा उल्लेख छ ।
प्रतिष्ठानको कार्यविधि अनुसार उपकुलपतिका लागि ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर (एमडी, एमएस, पीएचडी उपाधि) प्राप्त गरी प्राध्यापक पदमा कम्तीमा ५ वर्ष अनुभव’ हासिल गरेको हुनुपर्छ । तर लामिछानेले भने त्रिवि शिक्षण अस्पतालबाट एमबिबिएस सकाएर ११ महिने एमपिएच (मास्टर्स इन पब्लिक हेल्थ) मात्रै पूरा गरेको उजुरीमा उल्लेख छ ।
‘एमविबिएस ब्याचलरसरह मानिन्छ, त्यसपछि तीन वर्षको अध्ययन पश्चात् बल्ल एमडी वा एमएस हुन्छ, त्यसपछि पिचएडी गर्न सकिन्छ’, स्रोत भन्छ, ‘उहाँले गरेको एमपिएच भन्या ११ महिने कोर्ष मात्रै हो, त्यो स्नातकोत्तर होइन ।’
प्रथम दृष्टिमै लामिछाने उपकुलपति बन्न अयोग्य रहेको तर तत्कालीन स्वास्थ्य मन्त्रीले आर्थिक प्रलोभनमा सेटिंग मिलाएर नियुक्ति दिलाएको उजुरीमा उल्लेख गरिएको छ । लामिछानेको नियुक्ति प्रक्रियामाथि गम्भीर छानबिन गर्न र दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।
गत पुस १९ गते आयोगमा दर्ता भएको उक्त उजुरीको बोधार्थ प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयमा समेत दिइएको छ ।
1.31K shares
टिप्पणीहरू