आजको क्याबिनेटमा पनि कोरोनाको चर्चा
मुलुकभर कोरोना संक्रमणको दर उच्च गतिले बढेको बढ्यै छ । काठमाडौं उपत्यका अहिले कोरोना संक्रमणको क्लाइमेक्समा रहेको छ । सरकारका उच्च अधिकारीहरूले यसअघि विज्ञहरूसँग गरेको छलफलमा काठमाडौंमा सबैभन्दा खराब अवस्थामा संक्रमितको संख्या दैनिक २५ सयदेखि ३ हजारसम्म थपिनसक्ने केही महिना अघि नै पूर्वानुमान पाएका थिए ।
अहिले काठमाडौंमा दैनिक औसत १ हजारदेखि १५ सयको बीचमा संक्रमित थपिएको छ । पछिल्लो तथ्याङ्क अनुसार राजधानी काठमाडौं उपत्यकामा मात्रै मुलुकभरका सक्रिय संक्रमितमध्ये साठी प्रतिशतभन्दा बढी रहेका छन् । अर्कोतर्फ, संक्रमितको संख्या नसोचेको दरमा बढेपछि सर्वसाधारणमा पुनः बन्दाबन्दी हुनसक्ने भयले घर गरेको छ ।
एकातिर चाडबाडको सिजन अर्कोतिर कोरोना संक्रमणको चर्को महामारी बारे आज बेलुकी बोलाइएको क्याबिनेट बैठकमा छलफल हुने अनुमान गरिएको छ । तर, सरकारले पुनः बन्दाबन्दी वा निषेधाज्ञा गर्ने भन्दापनि सर्वसाधारणमा कसरी स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न लगाउने भन्ने विषयलाई अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित हुने स्रोतको दाबी छ ।
अबको डेढ महिनाभित्र दशैं, तिहार र छठ पर्व रहेकाले सरकारले अहिलेसम्मको अनुभवमा जनतालाई मास्क लगाउने, तोकिएको स्वास्थ्य प्रोटोकलको पालना गर्ने र सामाजिक दूरी कायम गर्न लगाउनु नै उत्तम उपाय रहेको निश्कर्ष निकालेको छ । चैतमा बन्दाबन्दी लागू गरेको समयमा सर्वसाधारण जति भयभित थिए अहिले महामारीले उग्र रूप लिँदा भने स्वास्थ्य मापदण्डको पालनामा जानाजान हेलचेक्राईं गरिरहेको यत्रतत्र देखिन्छ ।
टिप्पणीहरू