ठगीमा अनेक पक्राउ

ठगीमा अनेक पक्राउ

वैदेशिक रोजगार कसुर मुद्धामा फरार दुई व्यक्तिलाई प्रहरीले पक्रेको छ । ४६ लाख ५० हजार ठगी मुद्धामा २०७४ साल भदौ ११ गते १ वर्ष ६ महिना कैद र डेढ लाख जरिवाना तोकिएका दुई जनालाई प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट समातेको हो । महानगरीय प्रहरी महाशाखाबाट खटिएको टोलीले सिन्धुपाल्चोक बलेफी घर भई हाल भक्तपुर बस्ने सुदिप भनिने ३७ वर्षका तुलबहादुर तामाङ र सोही ठाउँ घर भई काठमाडौँ बौद्ध बस्ने २८ बर्षीय भीमबहादुर तामाङलाई पक्रेको हो । भीमबहादुर आज पक्राउ परेका हुन् भने तुलबहादुरलाई प्रहरीले अस्ति समातेको हो । पक्राउ परेका दुवै जनालाई कैद र जरिवानाका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।

यस्तै नर्सहरूलाई निशाना बनाई साइबर अपराधमा संलग्न एक जनालाई प्रहरीले इलामको नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरेर काठमाडौँ ल्याएको छ । पक्राउ पर्नेमा जुम्लाको कनका सुन्दरी गाउँपालिकाका पसल रोकाय रहेका छन् । उनी भारतबाट नेपाल आउन लागेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।
रोकायले आइटी इन्जिनियरिङमा डिग्री गरेको अनुसन्धानबाट खुलेको छ । सामाजिक सञ्जाल म्यासेन्जर, भाइबरबाट नर्सहरुलाई आइटीमा जागिर लगाइदिन्छु भन्दै पैसा माग्ने गरेको प्रहरीले जनाएको छ ।

भारतमा बसेर नेपालमा साइबर अपराध गर्ने रोकायविरुद्ध साइबर अपराध र ठगीसम्बन्धी ५ वटा मुद्दा काठमाडौँ परिसरमा दर्ता भएको छ । रोकाय एउटा मुद्दामा १ लाख धरौटीमा रिहा भइसकेका छन् ।

सर्वसाधारण भन्दा पनि रोकायको निशाना नर्सहरुमा थियो । नर्सहरुले जति पनि पैसा खर्च गर्नसक्ने भएकाले तिनलाई निशाना बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रोकायविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरो र महानगरीय अपराध महाशाखामा समेत साइबर अपराध तथा ठगीसम्बन्धी जाहेरी परेको बताइन्छ ।

टिप्पणीहरू