देश र अध्यादेश

देश अध्यादेशले चलाउने होइन । अध्यादेशले देश चलाउने चलन अब त्याग गर्नुपर्छ । सरकारले एकैचोटि ६ वटा अध्यादेश ल्याएपछि विपक्षीहरू कराउन थालेका छन् ।
सबैको एउटै राय छ– अध्यादेशले देश चलाउन पाइँदैन । त्यसो त नेपाल यस्तो देश हो जुन चलाउन अध्यादेश मात्र होइन केही पनि चाहिँदैन । कसैले केही नगरे पनि यो देश चल्छ । चलिरहेको छ । त्यसैले नेपाल चलाउन अध्यादेश चाहिन्छ वा चाहिँदैन भनिरहन पर्दैन । जुन देश चलाउन केही पनि चाहिँदैन, त्यस्तो देशलाई अध्यादेशमार्फत चलाउन खोजेपछि विरोध हुनु स्वाभाविक हो ।
तर अध्यादेश कहिलेकाहीं केही मानिसका लागि हस्ताक्षर गरिसकेको खाली चेक पनि हुन सक्दो रहेछ । जस्तो अहिले उपेन्द्र यादवको लागि भइरहेको छ । उपेन्द्रलाई थाहा छ, अध्यादेशबाट ल्याएको कानुन पारित भएन भने नैतिक रुपमा सरकार ढल्न सक्छ । उहाँ अध्यादेशको विरोध गर्नुहुन्छ । तर कहिलेकाहीं समर्थन पनि गर्नुहुन्छ । कहिले विरोध, कहिले समर्थन ।
विरोध र समर्थन उहाँको लागि उही हस्ताक्षर भइसकेको खाली चेकजस्तै हो । यो चेक देखाएर जे मागे पनि पाइन्छ । मन्त्री पद, मुख्यमन्त्री पद, आदि । अध्यादेश ठीक छ कि छैन भन्ने कुरा अब यही मुख्यमन्त्री पदले निर्धारण गर्छ । हेरौं के निर्धारण हुन्छ ।
टिप्पणीहरू