भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरणको सर्वत्र निन्दा

भारतमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल मृत भेटिएको घटनाको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । मृतक लम्सालको न्यायको लागि खबरदारी भन्दै प्रमुख राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले आज छुट्टा-छुट्टै दबाबमूलक कार्यक्रम गरेका हुन् ।
नेपाल विद्यार्थी संघले बिहान पद्मकन्या बहुमुखी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । 'जस्टिस प्रकृति' लेखिएको ब्यानरसहित भेला भएका कांग्रेसी विद्यार्थीले केहीबेर क्याम्पस गेटमा नाराबाजी गरे ।
त्यस्तै, नेकपा एकीकृत समाजवादी सम्वद्ध अनेरास्ववियूले पनि पाटन संयुक्त क्याम्पसमा विरोध प्रदर्शन गरेको छ । क्याम्पस ईकाई कमिटीका ईन्चार्ज माेहन बुढा मगर, अध्यक्ष सरिन थापा मगर, उपाध्यक्ष अनुसा बज्रचार्यलगायत डेढ दर्जनको उपस्थितिमा प्रकृतिको न्यायको लागि खबरदारी कार्यक्रम गरेको सो संगठनले जनाएको छ ।
घटनाकाे सत्यतथ्य छानविन गरी दाेषीलाई कारबाही गर्न विद्यार्थीले माग गरेका छन् । ब्यानर र प्लेकार्डसहित उपस्थित प्रदर्शनकारीले 'प्रकृतिलाई न्याय दे' भन्दै क्याम्पस परिसरमा नाराबाजी गरेका छन् ।
भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्री टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा अस्ति आइतबार लम्साल मृत भेटिएकी थिइन् । घटनाको विरोधमा नेपाली विद्यार्थीले प्रदर्शन गर्दा विश्वविद्यालय प्रशासनले दुर्व्यहार गरेपछि देश तथा विदेशमा यसको निन्दा भैरहेको छ ।
घटनाप्रति अखिल भारतीय विद्यार्थी परिषद्, प्राज्ञिक विद्यार्थी परिषद् नेपाललगायतले गम्भीर आपत्ति जनाएका छन् ।
टिप्पणीहरू