सानैमा बिहेवारी, सन्ध्यालाई दुःखको भारी

नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ की सन्ध्या क्षेत्री (नाम परिवर्तन) अहिले २४ वर्षकी भइन् । आमा, बहिनी र भाइ गरी चार जनाको परिवार छ । सन्ध्या सानै छँदा बुवाको मृत्यु भएकोले राम्रो शिक्षा दिक्षा पनि पाएनन् । दुःख गरेर हुर्काउने काम आमाले गरिन् । आमाको दुःख देखेर नरमाईलो लाग्थ्यो तर आफुहरू सानै भएकाले आमाको दुःखमा साथ दिन नसकेको सन्ध्याको भनाइ छ ।

समय सधैं एकैनाश कहाँ हुन्छ र ? १५ वर्षमै एक युवकसँग प्रेम गरेर आफू खुशी बिबाह भयो । हरेक नारीको जस्तै सन्ध्याका पनि कैयौं सपना थिए । सानैदेखि दुःखै दुःखमा जीवन बिताउँदै आएकी उनलाई बिबाह पछि पनि सुख मिलेन । केही समयमै आमा बन्न पुगिन् सन्ध्या ।

छोरी जन्माएका सुरुवातको केही समय श्रीमानले मायाजस्तो गरे पनि विस्तारै व्यवहार परिवर्तन हुन थाल्यो । कामको सिलसिलामा बाहिर जाने, घर नआउने श्रीमतीको वास्ता नगर्ने । यस्तै क्रममा अर्की छोरीको पनि जन्म भयो । त्यसपछि सन्ध्यालाई जिम्मेवारीले झन सताउन थाल्यो । श्रीमान्ले श्रीमती र छोरीहरू प्रति पूरा गर्नुपर्ने जिम्मेवारी र मायाले छुन सकेन । हरेक मान्छेले पीडा र दुःख सहनुको पनि सीमा हुन्छ । जसलाई माया र विश्वास गरेकी थिइन् उसले नै धोका धोका दिएर आफ्नो र छोरीहरूको कुनै वास्ता नगरेपछि सन्ध्यालाई झन् समस्या थपियो । २० वर्षकी हुँदा २ सन्तानको आमा भैसकेकी थिइन् । श्रीमान्ले वास्ता नगरी छोडेर हिँडेपछि त्यो घरमा आफ्नो भन्नु कोही भएन । त्यसपछि २ अबोध छोरीहरू लिएर माईतीमा बस्न थालिन् । माइतीको पनि आर्थिक अवस्था कमजोर ।

यही कारण बहिनी होटलको दोहोरी गीतमा नाच्ने काम गर्थिन् । त्यसैबाट घरमा अलिकति भए पनि आर्थिक सहयोग भएको थियो । तर बहिनीलाई उसैको केटा साथीले नशा (ड्रग) खान सिकाएछ । विस्तारै बहिनीले घर आउन र पैसा दिन छाडिन् । यता सन्ध्याको जीवन पनि अस्तव्यस्त थियो । दुई छोरीको पालन पोषण कसरी गर्ने भन्ने चिन्ताले सताउँथ्यो । बहिनीसँग होटलमा जाँदा उनीहरूले नशा खाएर मस्त भएको देख्दा सन्ध्या पनि विस्तारै थाहा नै नपाई कुलतमा फस्न पुगिन् । छोरीहरू हुर्कंदै थिए । जिम्मेवारी थपिदै थियो, सन्ध्या भने नशामा पूरै फसिसकेकी थिइन् ।

नशाको प्राप्ती र बहिनीसंगको कुसंगतमा लागेर नेपालगञ्जको चोक चोकमा भौतारीन थालिन् । नशा खान पैसा चाहिन्थ्यो तर सन्ध्यासँग पैशा थिएन । नशा सेवन गर्नकै लागि शरीरसमेत बेच्न थालिन् । छोरीहरू माइतीमा छोडेर अर्कै दुनियाँमा रमाइन् । आमाले छोरीहरूलाई माया गरे पनि आर्थिक अवस्था कमजोर भएको कारण छोरीहरूको पालन पोषण गर्न समस्या थियो । एक दिन एक महिलासँग भेट भयो । उनले पनि नशा सेवन गर्ने रहिछन् । पछि ति महिलाले मेथाडोन औषधि सेवन गरिरहेको जानकारी भयो । त्यो कुराबारे जानकारी पाएपछि सन्ध्या पनि बहिनीलाई लिएर परिवर्तन समूह (चेञ्ज टीम) को कार्यालयमा पुगिन् । परामर्शदाताबाट सम्पूर्ण जानकारी पाएपछि सो कार्यक्रममा भर्ना भइन् । त्यो औषधि सेवन गरेपछि नशा खान मन नलाग्ने, पैसा पनि नपर्ने, स्वास्थ्यको हिसाबले राम्रो हुने परामर्शदाताले राम्रोसँग जानकारी दिएपछि २६ मार्च २०१८ मा भर्ना भएर नियमित औषधि सेवन गर्न थालिन् ।

विस्तारै जीवन शैलिमा परिवर्तन आउन थाल्यो । कुनै दिन आफैलाई समेत भुलेकी उनलाई छोरीहरूको माया लाग्न थाल्यो । पुनर्विवाह गरिन् । हाल श्रीमान् उनलाई र छोरीहरूलाई असाध्यै माया गर्छन् । मेथाडोन औषधि खान जान सहयोग गर्दै आएका छन् । आज भोलि उनी एकदमै खुसी छन् । विहान ९/१० बजे औषधि खान्छन्, अनि घरपरिवार सम्हालेर बस्छिन् । चेञ्ज टिम संस्थाको सहयोगबाट तिन महिने सिलाइ कटाइ तालिम लिने अवसर पाएकी छन् । अब विस्तारै डोज घटाएर एक दिन पूरै नशाविहीन भई जीवन बिताउने योजना छ ।

–  नमस्कार शाहबाट

टिप्पणीहरू