कोरोना छिरेपछि कारागारमा कोलाहल

कोरोना छिरेपछि कारागारमा कोलाहल

मोरङ कारागारमा कोरोना संक्रमण पुष्टि भएपछि कोलाहल सुरु भएको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएको र कारागारको आन्तरिक परिसर पनि एकदमै साँघुरो भएकोले कोलाहल मच्चिएको हो ।

जेलर सुवास लामिछानेका अनुसार आन्तरिक र बाह्य उच्च सतर्कता अपनाएकाले भदौसम्म सुरक्षित राख्न सफल भएको मोरङ कारागारमा १४ असोजमा दुई जना बन्दीलाई कोरोना पुष्टि भएको थियो । त्यसपछि शंकास्पदलाई पिसिआर गराएकोमा हालसम्म आधा दर्जन कैदीबन्दी संक्रमित भइसकेका छन् । जसमा एक जनाको अस्पतालमा मृत्यु भएको छ । कारागारको एउटा कोठामा साँघुरो गरेर ४५ देखि ५० जनासम्म बस्दै आएका छन् ।

तीन सय जनाका लागि क्षमता भएको कारागारमा महिला र पुरुष गरी जम्मा ९ सय २२ जना कैदीबन्दी खाँदिएका छन् । मोरङ कारागारमा ५० जना क्षमता भएको महिला विभागमा ४६ कैदी र ३५ जना बन्दी छन् । २ सय ५० जनाको क्षमतायुक्त पुरुष विभागमा ४ सय ९४ जना कैदी र ३ सय ४८ बन्दी छन् । जसमध्ये ४९ जना भारतीय र १० जना भुटानी नागरिक छन् ।

कारागारमा ११ चैतपछि २ सय ५० जना कैदीबन्दी थपिएका छन् तर उनीहरू सबैको पहिले आरडिटी र पछि पिसिआर रिपोर्ट पोजिटिभ आएपछि मात्र जिम्मा लिएकोले संक्रमण हुन पाएको थिएन । भदौ तेस्रो हप्ता सिरहा कारागारबाट १० जना महिला कैदी पठाइएको थियो । तर, कोरोना जाँच गर्दा सबैमा पोजिटिभ पाइएपछि भित्र छिर्नै नदिई फिर्ता पठाइएले संक्रमणको ठूलो जोखिम टरेको थियो । तर १४ असोजमा जसरी भए पनि मोरङ कारागारमा कोरोना छिरेरै छाड्यो ।

उच्च जोखिममा रहेको विराटनगर हाटखोलास्थित मोरङ कारागार परिसर खुल्ला भएको र भित्र पनि कोठा र भवनहरूको अभाव भएकोले अलग्गै क्वारेन्टाइन र आइसोलेसन बनाउन समस्या भइरहेको छ । जेलर लामिछानेका अनुसार कोरोना संक्रमण देखिएपछि भित्रको मुढा बुन्ने कोठालाई आइसोलेसनका रुपमा प्रयोग गरिएको छ । थप संक्रमण देखिएमा भित्रकै एउटा र बाहिर प्रहरीको बस्ने कोठालाई आइसोलेसनका रुपमा प्रयोग गर्ने योजना छ ।

टिप्पणीहरू