फरार प्रतिवादीहरुबाट पौने करोड असुलिँदै

कास्की जिल्लामा गत फागुनमा झण्डै एक सय फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालतको फैसलाबमोजिम विभिन्न मुद्दामा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट खटिएको टोलीले ७७ पुरुष र १५ महिला गरी ९२ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये सबैभन्दा बढी चेक अनादार मुद्दाका ४२ जना छन् ।
त्यसपछि अभद्र व्यवहार मुद्दाका १५, चोरी मुद्दाका १२, लागू औषधसम्बन्धी मुद्दामा १०, पशुपंक्षीसम्बन्धी कसुरमा चार, बैंकिङ्ग कसुर मुद्दामा तीन, सवारी ज्यान र जुवाताससम्बन्धी कसुरमा दुई–दुई, सार्वजनिक अपराध र सवारी अंगभंग कसुरमा फरार रहेका एक–एक जनालाई पनि प्रहरीले पक्रेको छ ।
प्रहरीका अनुसार ८३ लाख २० हजार ३४ रुपैयाँ जरिवाना असुल उपरसहित तीन वर्ष ११ महिना १६ दिन कैद सजाय भुक्तानका निम्ति उनीहरुलाई अदालतमा पेश गरिएको छ ।
टिप्पणीहरू