इन्भर्टर बढ्यो

जसै कुलमान घिसिङ प्राधिकरणबाट आउट भए, बजारमा इन्भर्टर व्यवसाय फस्टायो भन्ने । यो त बहुत राम्रो कुरा हो । कोरोना लागेदेखि देशमा जम्मै व्यवसाय चौपट छ । राम्रो भन्ने कहीँ पनि छैन । व्यवसाय चौपट भएर होटल चलाउने पसलेहरू ठेला धकेलेर केरा र सागपात बेचिरहेका छन् । यस्तो प्रचण्ड मन्दीमा अचानक एउटा राम्रो समाचार आयो– इन्भर्टरको व्यापार बृद्धि !

इन्भर्टरको बढेको व्यापारले नेपाली अर्थतन्त्रलाई अलिकति भए पनि थेग्छ होला । अरू केहीको व्यापार बढेको छैन । बढेको यसैको हो । अलि अलि त थेग्नै प¥यो नि !

व्यापार बढ्नुलाई कुनै पनि देशभक्त नागरिकले नराम्रो भन्दैन । अर्थविद्ले त झनै भन्दैन । कुलमान गएपछि देशलाई घाटा हुन्छ भन्नेहरू पनि छन् । तर, पहिलो महिनामै त्यो गलत सावित भयो । कुलमान गएपछि व्यापार बढेको छ । आज इन्भर्टरको बढ्यो, भोलि ब्याट्रीको बढ्ला, पर्सि मैनबत्तीको बढ्ला, निपर्सि टुकीको बढ्ला । यो क्रमशः बढ्दै गएपछि देश त उसै समृद्ध भइहाल्यो नि ! किन कचकच ।

टिप्पणीहरू