भारतीय बिष्फोटले नेपालको बाटो बर्बाद

भारतीय बिष्फोटले नेपालको बाटो बर्बाद

भारतको सडक निर्माणले महाकाली किनारको नेपालतर्फ पैदल बाटो क्षतिग्रस्त भएको छ । दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर २ तम्बाकु र घाटिबगर क्षेत्रको बीचमा एक हप्ताअघि बाटो बिग्रेको हो । महाकाली नदीको किनारैकिनार भारतले लिपुलेक जोड्ने सडक निर्माण सम्पन्न गरी चौडा बनाइरहेको छ ।

भारतको नज्याङ क्षेत्रमा सडक फकारिलो बनाउन बिस्फोटक पदार्थ प्रयोग हुँदै आएको छ । कडा चट्टानी क्षेत्र फुटाउन प्रयोग गरिएको बिस्फोटक पदार्थका कारण सडकमाथिबाट ठूलो चट्टान फुटेर महाकाली नदीमा खसेको छ । नदीको वहाव नै थुनिएर उक्त क्षेत्रमा ठूलो ताल बनेको जिल्लास्थित सुरक्षा निकायहरूले बताएका छन् । पानी थुनिएर ताल बन्दा पैदलबाटो क्षतिग्रस्त भएको प्रजिअ शरदकुमार पोखरेलले बताउनुभयो ।

३५ मिटर लामो बाटो क्षतिग्रस्त भएको दार्चुला प्रहरी प्रमुख डिएसपी पदमवहादुर विष्टले बताउनुभयो । ‘भारतको सडक निर्माणले हाम्रोतर्फको बाटोमा क्षति पुगेको जानकारी पाएपछि दुम्लिङ प्रहरी चौकीबाट सुरक्षाकर्मी घटनास्थल पठाइएको’ उहाँको कथन छ । असोज १४ गते असईको नेतृत्वमा तम्बाकु र घाटिबगरको बीचक्षेत्रमा सुरक्षाकर्मीको टोली पुगेको थियो ।

व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङबाट क्षतिग्रस्त बाटोको क्षेत्र ४ घण्टाको पैदल दूरीमा छ । बाटो भत्किएको ठाउँबाट ४ किलोमिटर उत्तरमा नेपाली सेनाको टोली छ । सेनाको टोलीले घाटिबगर क्षेत्रमा हालै ५ सय ५० मिटर कडा चट्टान फुटाएर पैदल मार्ग खुलाएको छ । सेनाले तम्बाकु क्षेत्रको २ सय मिटर कडा चट्टान फुटाउने गृहकार्य पनि अघि बढेको छ ।

प्रजिअ पोखरेलले मोबाइल सम्पर्क गरी धारचुलाका एसडिएमसंग यसबारे कुराकानीको प्रयास गरेका छन् । तर, बिहीबार एसडिएमले मोबाइल रिसिभ नै नगरेको स्रोतले बतायो । मोबाइल सम्पर्क नभएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्राचार गरेको छ ।

मुख्यमन्त्रीको आपत्ति

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भारतीय सडक निर्माणले नेपालको पैदल बाटो क्षतिग्रस्त भएकोमा आपत्ति जनाएका छन् । नेपाली सेनाले निर्माण गरेको पैदल बाटाको हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा सहभागी हुन असोज १९ गते दार्चुला पुगेका मुख्यमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

तम्बाकु क्षेत्रमा मान्छे हिडडुल गर्ने बाटो भए पनि गाइवस्तु हिडनलायक बाटो छैन । स्थानीय र प्रदेश सरकारले त्यसक्षेत्रको बाटो सुधार गर्ने मुख्यमन्त्री भट्टले बताउनुभयो । ‘आवश्यकता अनुसार सेनाले विस्फोटक पदार्थको प्रयोग गर्छ, यसका लागि हामी समन्वय गर्छौ’ उहाँले भन्नुभयो ।

सोमबारको बाटो हस्तान्तरण तथा उदघाटन कार्यक्रममा प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा, सुदूरपश्चिम पृतनापति उपरथी निर्मलकुमार थापा, सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेल तथा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदीलगायतकाको सहभागिता थियो ।

टिप्पणीहरू