साथीको सानी छोरीमाथि गिद्धेनजर

साथीको सानी छोरीमाथि गिद्धेनजर

दश वर्षीय बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा सशस्त्र प्रहरीले आफ्नै बेस इञ्चार्ज नायव निरीक्षक (सई)लाई समातेर कारवाहीको लागि प्रहरीमा बुझाएको छ ।

उत्पीडकको आरोप लागेका सई धर्मेन्द्र महतो महोत्तरीको रेल्वे स्टेशन पिपराहीमा कार्यरत थिए । महतोले मर्निङ् वाकमा जाँदा आफ्नै एक साथीको दश वर्षीया छोरीलाई धर्मशालामा लगेर लुगा फुकाल्न लगाई काखमा राखेका आरोप लागेको हो । बालिकाले घरमा यौनदुव्र्यवहारको घटना सुनाएपछि अभिभावक र गाउँले बेस क्याम्प घेर्न पुगेका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै आइजीपी राजु अर्यालले महतोलाई पक्राउ गरी जनपद प्रहरीलाई बुझाउन महोत्तरीका एसपी पुरन भट्टलाई निर्देशन दिएको बताइन्छ । एसपी भट्ट तत्कालै घटनास्थल पुगी महतोलाई समातेर प्रहरीमा बुझाएका थिए । गत शुक्रबार बिहान भएको यस घटनाका आरोपित सई पीडित बालिकाको घरमा आउनेजाने र खान्तेपिन्ते गर्ने बुबाको साथी भएको र पीडित बालिकाले अंकल भनी संवोधन गर्दै आएका थिए । आरोपित सईको घर सिराहा गोलबजार नगरपालिका वडा नं.१२ मा रहेको छ । 
 

टिप्पणीहरू