अर्का न्यायाधीश पनि कोरोना सँक्रमित
कोरोना महामारी र सङ्क्रमणको कारण सर्वोच्च अदालत अझै खुल्ने छाँटकाँट छैन । अधिकांश न्यायाधीश क्वारेण्टिनमा बसेका कारण गत सातादेखि नै सर्वोच्चको दुईवटा सिङ्गल इजलासबाहेक अरु इजलास बन्द भएको हो । महाराजगञ्जस्थित नर्सिङ कलेजमा कार्यरत श्रीमतीको कारण हिजोदेखि न्यायाधीश टंक मोक्तान पनि आइसोलेशनमा बसेपछि अदालत झन् ठप्प भएको हो ।
आउने बुधबार तोकिएको नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सांसद वामदेव गौतमबिरुद्धको मुद्दा अब दशैं पछाडि सर्ने पक्का झैँ भएको बताइन्छ । आउने शनिबार घटस्थापना भएकाले सोही दिनदेखि सर्वोच्च अदालतमा कोजाग्रत पूर्णिमासम्म दशैं बिदा शुरु हुन्छ । त्यो अवधिमा बन्दीप्रत्यक्षीकरणसँग सम्बन्धित मुद्दा हेर्नको लागि निश्चित समयको लागि मात्र अदालत खुल्ला गरिन्छ ।
काठमाडौं उपत्यकामा डरलाग्दो ढंगले फैलिएको कोरोना सङ्क्रमणका कारण शनिबार उपचारको लागि गएका एक सय पाँच जना बिरामीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,महाराजगञ्जले बेड नभएको भन्दै फिर्ता पठाइदिएको छ । यता,सर्वसाधारणले पनि तोकिएको स्वास्थ्य मापदण्डको पालना नगरी गति छाडेरै हिँडडुल गरेको देखिन थालेको छ ।
टिप्पणीहरू