जलमाफियाको जालो

विश्व कँडेल, ज्ञानेन्द्र प्रधानहरू चीरपरिचित जलविद्युत माफिया हुन् । उत्तरी धादिङको आँखु खोलामा २५.४ मेगावाट जलविद्युत उत्पादन गर्ने गरी कँडेलले गोरक्ष जलविद्युत कम्पनी खोलेका हुन् ।

कम्पनीमा अमेरिका र जर्मनीका केही लगानीकर्तासँगै एकजना पाण्डे थरका व्यक्तिले झण्डै ६ करोड रूपैयाँ लगानी गरेका छन् । तर,परियोजना शुरु नहुँदै केही रकम हिनामिना गरेको पत्तो लागेपछि कँडेललाई कम्पनीबाट निष्काशन गरिएको छ । तरपनि उनको छोराको नाममा कम्पनीमा ठूलै संख्यामा सेयर रहेको बताइन्छ ।

कँडेलले विभिन्न व्यक्तिसँग मिलेर वैदेशिक रोजगार (म्यानपावर) कम्पनी र होटलमा समेत लगानी गरेका छन् । अबको हिउँदमा सुपर आँखुको निर्माण कार्य शुरु हुने बताइएको छ । परियोजनास्थलको जलविद्युत गृहसम्म जानको लागि सडकको ट्रयाक खुलाइएको छ । तर,नहरको मुहानसम्म जानको लागि सडक नभएकोले कँडेल एण्ड कम्पनीले राजनीतिक हत्कण्डा प्रयोग गरेर सडक खोल्न लागेको देखिएको हो ।

जलमाफियाले जलविद्युत आयोजना सञ्चालन गरेर पछि कुस्त कमाउने तर अहिले आवश्यकताअनुसार सडक बनाउनको लागि गाउँपालिकाको बजेट खर्च गर्ने ग्राण्ड डिजाइन बनाइएको स्थानीयको आरोप छ । हालसम्म जनताको लागि उक्त क्षेत्रमा सडक बनाउन आवश्यक नठानेको रुबी भ्याली गाउँपालिकाले एकाएक टेण्डर आह्वान गर्नुलाई जलमाफियासँगको साँठगाँठ ठानिएको छ ।

गाउँपालिका यो वर्ष मुख्य बस्तिलाई जोड्ने सडकलाई छाडेर सुपर आँखुको मुहानमा पुग्नलाई सहयोग हुनेगरी बन क्षेत्रबाट सडक खन्न अग्रसर भएको छ । गतवर्षको ५० लाख र यो वर्षको ४० लाख बजेट गरी ९० लाख रूपैयाँ खर्चेर गाउँपालिकाले बनाउन लागेको सडक मूलतः कँडेललगायतको परियोजनालाई सघाउनको लागि रचिएको योजना भएको पुष्टि हुँदै गएको छ ।

गाउँपालिकाले हिम्दु भन्ने गाउँसम्म जानको लागि बाटो खन्न लागिएको बताएपनि भित्री रहस्यचाहिँ जलमाफियाकै स्वार्थबाट प्रेरित रहेको बताइन्छ । उक्त सडक मार्गका केही स्थानमा स्थानीयको निजी खेत पर्ने भएकाले मुआब्जा दिनुपर्ने हुन्छ । त्यो पनि गाउँपालिकाले तिर्ने र जंगल क्षेत्रको धेरै ठाउँमा जगल फँडानी गर्नुपर्ने भएकाले गाउँपालिकाले मास्न सजिलो हुने भएपछि अर्को गाउँ जोड्ने नाममा सडक खन्न लागिएको हो । तर, यसरी बाटोको नाममा सरकारी ढुकुटी खर्चेर जलविद्युत लगानीकर्तालाई मात्र नाफा दिन खोज्नु कति जायज होला ?

सतहमा सुपर आँखु देखिए पनि त्यसकोपछाडि अन्य धेरै जलविद्युत कम्पनीको स्वार्थ जोडिएको देखिन्छ । सुपर आँखुले मात्रै होइन गाउँपालिकाको करोडौं बजेट खर्चेर बनाइएको बाटोपछि सोही ठाउँमा तिलक लामाको अर्को २५ मेगावाटको आयोजना पनि निर्माण हुनेछ । गणेश हिमालको फेदमा रहेका यी परियोजनाबाट बिजुली उत्पादन भइसकेपछि निस्केको पानी ३५ मेगावाटको अजय सुमार्गीको जलविद्युत परियोजनामा पुग्नेछ ।

त्यसपछि ज्ञानेन्द्र प्रधानको ३९ मेगावाटको अर्को परियोजना पनि ठिक्क पारिएको छ । प्रधान तिनै हुन् जसलाई ‘झोलामा खोला’ बोक्ने जलमाफियाको रूपमा धेरैले चिन्छन् । प्रधानको परियोजनापछि त्यहि पानी फेरि दार्खा नजिकै उनै कँडेलहरूले बनाउन ठिक्क पारेको २० मेगावाटको जलविद्युत परियोजनामा पुग्छ । त्यहि चक्करमा पानीको मुहानमा पुग्ने बाटो खन्नको लागि रुबी भ्याली गाउँपालिकाको करोड बजेट खर्च गर्ने यो कस्तो विकास होला ?

टिप्पणीहरू