दिल्लीको दुखिरा’छ दिल

दिल्लीको दुखिरा’छ दिल

कोरोना महामारीपछि अस्तव्यस्त भएको हवाई सम्बन्ध सुचारु गर्न भारतले नेपालसँग दुई महिनादेखि ‘एयर बबल’ का लागि अनुमति मागिरहेको छ । तर, नेपालले बेवास्ता गर्दा अहिलेसम्म उताको चाहना पूरा हुन पाएको छैन ।

‘एयर बबल’ भनेको भारतबाट आउने जहाजबाट नेपाली यात्रु काठमाडौं आोर्लिने र काठमाडौंबाट भारतीय यात्रुमात्रै जाने भाइचारा हवाई सम्बन्ध हो । भारतले यस्तो अनुमति १० वटा देशलाई दिएको छ । तर, नेपालसँग अनुमति मागेको दुई महिना बितिसक्दा पनि नपाएपछि दिल्लीस्थित दूतावासका कर्मचारीहरु हैरानी खेप्दैछन् । राजदूत नीलाम्बर आचार्यले नेपाल सरकारलाई कम्तिमा हप्तामा दुईवटा त्यस्तो उडान गर्न पाए राम्रो हुने सुझाव दिइसकेका छन् । तर, राजदूतकै सुझावको पनि सुनुवाई भएको छैन । प्रस्ताव क्याबिनेटमा अड्किएर बसेको छ ।

तर, नेपालले चीनसँग भने त्यस्तो उडान शुरु गरिसकेको छ । चीनको तुलनामा भारतसँग नेपालको भौगोलिक, सामाजिक, साँस्कृतिक र धार्मिक रुपमा पनि सहज सम्बन्ध छ । तर, नेपालले त्यस्तो छिमेकीसँग एयर बबल गर्न नचाहँदा भारतीय अधिकारीहरुले मन दुखाइरहेको दूतावासका कर्मचारीहरु बताउँछन् ।

अर्कातिर, भारतबाट स्थलमार्ग हुँदै आउने यात्रुलाई विभिन्न भन्सार नाकामा दुःख बढेको छ । तिनीहरुले पिसिआर नेगेटिभ भएको रिपोर्टसहित आउनुपर्ने र आएपछि गृह मन्त्रालय हुँदै सम्बन्धित प्रमुख जिल्ला अधिकारीबाट प्रवेश अनुमति लिनुपर्ने व्यवस्था छ ।

यसबीच नेपालमा हवाई सेवा सुचारु त भयो, तर यात्रु अभावका कारण सेवाप्रदायक कम्पनीहरु घाटामा चलिरहेका छन् । विदेशबाट आउने जहाजमध्ये पनि कतार एयरलाइन्सले गर्ने ट्रान्जिट फ्लाइटका कारण त्यसले बढी यात्रु बोक्छ । तर, आउँदा भरिभराऊ, जाँदा खालि अवस्था छ ।

उता, अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा पाएको यति समूहनिकट हिमालयन एयरलाइन्सले काम शुरु गर्न अझै ६ महिनादेखि एक वर्षसम्म लाग्ने भएको छ । शुरुमा इन्स्पेक्सन (निरीक्षण) हुनुपर्छ, त्यही काम बाँकी छ ।

त्यसपछि विभिन्न निकायको सहमति, अनुमति लिनेजस्ता चरणमा पुगेकै छैन । अनि, तेस्रो पक्ष (थर्डपार्टी) बिमा गर्नुपर्छ, पाँच करोड डलरको । यी सबै काम सिध्याएर ग्रउण्ड ह्याण्डलिङ शुरु गर्न झण्डै एक वर्ष लाग्ने भएको हो ।

टिप्पणीहरू