कसको कुरा पत्याउनु ?
कर्णाली प्रदेश सरकार र त्यहाँको नेकपा प्रदेश कमिटीमा उत्पन्न अवरोध हटाउन एकाएक काठमाडौं बोलाइएका कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत नेकपाका नेताहरू फर्किने मुडमा पुगेका छन् । समस्या समाधानमा बालुवाटार र खुमलटारको संयुक्त बैठकबाट कुनै ठोस निर्णय नआएपछि उनीहरू फर्किन लागेका हुन् ।
तर,मंगलबार अबेरतिर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ ले जारी गरेको प्रेस नोट एकआपसमा बाझिएका छन् ।
उक्त समस्या समाधानको लागि बिहान दुईजना अध्यक्षबीच बालुवाटारमा वार्ता भएको दुबैपक्षले स्वीकारेका छन् । तर,थापाले जारी गरेको प्रेस नोटमा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने र प्रमुख सचेतकमा शाहीद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत रूपमा सचेतकमा कायम गर्ने उल्लेख छ । प्रेस नोटमा भनिएको छ, ‘दुईजना अध्यक्षबीच मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको छ ।’
उता, त्यहि विषयमा सापकोटाले जारी गरेको प्रेस नोटमा भने थापाले उल्लेख गरेको भन्दा विपरीत ढंगले दुईजना अध्यक्षबीच भएको कुराकानीको बारेमा संक्षेपमा जानकारी गराइएको छ । सापकोटाको प्रेस नोटमा ‘उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतकसम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समस्या समाधान गर्न सुझाव दिने समझदारी भएको’ भनिएको छ ।
दुईवटा प्रेस नोटमा उल्लेख गरिएका विषय फरक ढंगले सार्वजनिक भएकाले पार्टी कमिटी र सर्वसाधारणबीच अन्यौल बढेको हो । बालुवाटारले चार बुँदे सहमति भएको बताएको छ भने खुमलटारले कुनैपनि सहमति नभएको जिकिर गरेको छ ।
टिप्पणीहरू