प्राकृतिक पद्धतिबाट कोरोना परास्त
वन तथा चारैतिर बोटबिरुवाको हरियाली । बजारको कोलाहल तथा भीडभाड भन्दा केही पर शान्त, रमणीय प्राकृतिक वातावरणका बीच प्राकृतिक तवरबाट बिरामीहरुको उपचार । चितवनको भरतपुर–१, बागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा भरतपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड १९ आइसोलेसन केन्द्रमा निकै सफलताका साथ काम भइरहेको पाइएको छ । पुगेको केही दिनमै कोरोना संक्रमितहरुले नयाँ जीवन पाएको महसुस गर्ने गरेका छन् । शतप्रतिशत बिरामीहरु यहाँबाट कोरोनालाई जितेर घर फर्कन सफल भइरहेको बुझिन्छ ।
भदौ १४ गते स्थापना भएको यस आइसोलेसन सेन्टरमा सुरुमा लक्षण नदेखिएका सामान्य कोरोना पोजिटिभको मात्र व्यवस्थापन गर्ने भनिएपनि पछिल्लो समय ज्वरो, रुघाखोकी लगायत लक्षणयुक्त बिरामीहरुको समेत उपचार भइरहेको छ । असोज मसान्तसम्म २२६ जना कोरोना पोजिटिभ भर्ना भएकामा निको भएर १४४ जना घर गइसकेका छन् । कोरोना पोजिटिभ देखिएको १४ दिनपछि परीक्षण गर्दा शतप्रतिशत रिजल्ट कोरोना नेगेटिभ आइरहेको चिकित्सालयका डा. विकास रानाभाटले जानकारी दिए ।
योग तथा प्राकृतिक आहारविहारका माध्यमबाट कोरोना संक्रमणलाई निस्तेज पार्ने गरिएको उनले बताए । एकाबिहानै योगा अनि जलनेती, गलाको गलाला, बाफ लिने जस्ता योगिक क्रिया, सूर्य स्नान गराएपछि ९ बजेतिर नास्ताको रुपमा अंकुरित गेडागुडी, फलफूल, कोदो तथा फापरको रोटी दिने, १२ बजेतिर खाना दलिया, कागुनो वा चामलको भात, सिजनल तरकारी, सलाद (काँक्रो, गाजर, मूला, प्याज, कागती आदि) खुवाउने, फेरि २–३ बजेतिर अंकुरित गेडागुडी, फलफूल खाजाको रुपमा दिएर बेलुकी ५ बजेतिर खाना खुवाएपछि बिरामीहरुलाई झण्डै १६ घण्टा आवधिक उपवास बस्न लगाउने गरेको डा. रानाभाट बताउँछन् ।
उपबास बस्दा भोक लाग्यो भने शरीरले कीटाणुहरुलाई नै खानाको रुपमा लिएर इनर्जी निकाल्ने र भाइरसहरुलाई नष्ट गर्ने उनी बताउँछन् । दिनमा खेलकुद, आराम तथा मनोरञ्जनात्मक क्रियाकलापमा साधकाहरुलाई सहभागी गराइने एवम् बेलुकी भजनकीर्तन र नाचगान पनि गराउने गरेको उनले बताए । बेलुकी खानापछि दूध पनि सेवन गराइने, तुलसी, अदुवा, बेसार, सिरेनुन र भेली पानी तताएर खुवाइने डा. बताउँछन् । यहाँ उपचाररत संक्रमितहरु नै भन्छन्, ‘बागीश्वरी जाऔं, कोरोना भगाऔं ।’
‘तपाईंहरु कसैलाई पनि कोरोना नलागोस्, यदि लागिहाल्यो भने आँखा चिम्लेर बागीश्वरी आए हुन्छ’, नारायणगढ, बेलचोकनिवासी दुर्गाराज पन्तले भने । कोरोना पोजिटिभ भएपछि नाकले गन्ध, जिब्रोले स्वाद थाहा नपाउने भएका उनले यहाँ उपचारमा आएको ३÷४ दिनमै गन्ध, स्वाद थाहा पाएको बताए । गत शुक्रबार सातौं दिनमा भेट्दा निकै उत्साहित देखिएका पन्त अहिले त पूरै ठिक भइसकें भन्ने लागेको बताउँछन् । डा. हेमराज कोइराला यहाँका मेडिकल डाइरेक्टर हुन् । आफूहरुलाई स्वस्थ बनाउन डा. कोइरालाको स्वास्थ्य टिमको विशेष योगदान रहेको भन्दै उनले मुरीमुरी धन्यवाद दिन चाहे ।
बताइएअनुसार सुनचाँदी व्यवसायी महिला संघकी रुपा बराली कोरोनाले गलेर उभिनै नसक्ने अवस्थामा पुगेकी थिइन् । सास फेर्न पनि गाह्रो । अहिले यहीँ उपचारमा रहेका रुपाका श्रीमान् आकाश बरालीले भने, ‘थाहा पाएर डा. हेमराज सर घरमै आउनुभयो । तुरुन्त बागीश्वरी लैजान सुझाउनु भयो ।’ यहाँ ल्याएको केही दिनमै श्रीमती एकदम तन्दुरुस्त भएकी आकाशले बताए । आफू पनि मरिन्छ कि भन्ने लागेको थियो, यहाँ आएपछि बाँचिन्छ भनेर ढुक्क भएको उनले बताए । ‘यहाँ एकदम राम्रो छ, म पनि हतोत्साही भएको थिएँ’, रत्ननगरबाट आएका सुजन अर्यालले भने, ‘अहिले निको हुन्छु भनेर पूरै ढुक्क छु ।’ रुघाखोकी, काम्ने ज्वरो अनि ज्यान गलेर करकरी दुख्ने, स्वाद–गन्ध केही थाहा नपाउने अवस्थामा बागीश्वरी आएको कात्तिक २ गते ९ दिन भएको बताउने भरतपुर–१० निवासी कोरोना संक्रमित मनोजकुमार बरनवालले अहिले आफू एकदम ठिक भएको बताए । यहाँ अहिलेसम्म साढे दुई वर्षदेखि ८० वर्षसम्मका र दीर्घरोगीहरुको पनि उपचार भइरहेको डाक्टर बताउँछन् । आईसीयु र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बाहेक अन्य जुनसुकै गम्भीर प्रकृतिका कोरोना संक्रमितहरुको आफूहरुले सफल उपचार गर्न सक्ने मेडिकल डाइरेक्टर हेमराज कोइराला बताउँछन् । यहाँ उपचार बापत प्रतिदिन प्रतिव्यक्ति रु. ३५० का दरले महानगरले चिकित्सालयलाई रकम उपलब्ध गराउने बुझिएको छ ।
– अजय गोर्खाली
टिप्पणीहरू