आशा नगर्नोस् न, डराउनै पर्दैन
प्रधानमन्त्रीमा दोस्रोपटक अविजित यात्रा गरेपछि केपी शर्मा ओलीको कार्यशैली फरक हुने धेरैको अनुमान यति फरक पर्यो कि, त्यतिसम्म होला भनेर सायदै कल्पना गरिन्थ्यो । सत्तामा रजगज गर्न सबैभन्दा सजिलो भ¥याङ हो गृहमन्त्री । गिरिजाबाबुले शेरबहादुर देउवालाई र मनमोहन–माधवले केपी ओलीलाई गृहमन्त्री नदिएको भए सायद उहाँहरू आज रक्षाबाट पनि रक्षा नभएकाहरू जस्तै हालतमा हुनुहुन्थ्यो होला । वामदेव, विजय गच्छदार, खुमबहादुर खड्का, कृष्ण सिटौलादेखि भीम रावल, जनार्दन शर्माहरूको ओज देखेर नै हुनुपर्छ, प्रधानमन्त्रीले सबैभन्दा कमजोर र आफ्नो पिछलग्गु बनाइदिनुभयो बलशाली, प्रभावशाली र कार्यकारी अध्यक्षको पनि ‘मित’ भनिएका अहिलेका गृहमन्त्रीलाई । यो ३ वर्षमा यहाँहरूले कहीँ कतै गृहमन्त्रीको अन्तर्वार्ता पढ्नुभएको छ ? हेर्नुभएको छ ? सुन्नुभएको छ ? पत्रकारहरूले कुनै पत्रकार सम्मेलनमा प्रश्न सोध्न पाउनुभएको छ ? प्रदेश ५ को सुरक्षा गोष्ठीपछि गृहमन्त्रीले बोल्नुभएको थियो । तर त्यहाँ शर्त थियो, कुनै पनि पत्रकारबाट ‘प्लिज, नो क्वइसन ।’
सरकारसँग अनगिन्ती आशा थिए । दुई पार्टी एकता घोषणापछि त झन नेपाली जनतालाई भोकालाई खिर भनेजस्तै भएको थियो । शुरुका वर्षमा देशमै केही हुन्छ भनेर विदेशबाट युवा आए र फेरि श्रम स्वीकृति लिन चाहेनन् । देशमै उद्यम रोजे । सकारात्मक सञ्चारका बेलुन यसरी फुक्यो कि, त्यो धान्न नेकपा र सरकारलाई अहिले गाह्रो भइरहेको छ । सरकारलाई सही बाटोमा हिँडाउने सल्लाहकारको अभाव थिएन, अनुभव नभएका प्रधानमन्त्री र मन्त्रीहरू पनि थिएनन् अनि योजना, घोषणापत्र नै नभएको त झनै हुँदै हैन । तर यसै साता अनेरास्ववियुको कार्यविभाजनमा समेत असन्तुष्टि पोखिएका छन् । सबैतिर असन्तुष्टिको नशा फुलाएर सरकार स्वयं अस्वस्थ भएको हो !
सुरेन्द्र पाण्डे यो सरकारले ल्याएको बजेटको प्रशंसक हुन् । अग्रज नेताहरू नाफाको जिन्दगीका अर्थमन्त्री डा. युवराज खतिवडाको खासै विरोध गर्दैनन् । हेभिवेट नेताहरूलाई बजेट पारिदिएपछि अर्थमन्त्री, प्रधानमन्त्री जो भए पनि तिनले हेर्ने निर्वाचन क्षेत्र हो । सुरेन्द्र पाण्डेले यो साता कान्तिपुर टेलिभिजनमा केपी ओलीको कार्यशैली र रवैयाको खुलेर विरोध गरेको टिप्पणीले सामाजिक सञ्जालहरू पोतिए । समाचारअनुसार, राष्ट्रपति र कार्यकारी अध्यक्षसहित वरिष्ठ नेताहरू सुरेन्द्र पाण्डेको पक्षमा थिए । अर्थमन्त्री उनैलाई दिनु केपी ओलीका लागि किन पहाड बन्यो, यसको जवाफ उहाँले नदिए पनि नेकपाले कालान्तरमा दिनुपर्छ । त्यतिखेर धेरै क्षतिपूर्ति पनि भर्नु पर्ला राजनीतिमा । तर सुरेन्द्र पाण्डेमा एक आशाको दियो जागिरहेको देख्थेँ ।
सुरेन्द्र पाण्डे एमालेको असारे भेलबाढीमा भइरहेको नवौँ महाधिवेशनमा महासचिवका बलिया उम्मेदवार थिए । आफन्त र गुटले धोका नदिएका भए शायद एमालेको मात्रै होइन, अहिले नेकपाको पनि महासचिव नै हुन्थे । जागिर र मन्त्रीको लोभ गरेर हुँदाखाँदाको महासचिव छोड्ने नेता होइनन् पाण्डे । फेरि महाधिवेशन होला, महासचिव या त्योभन्दा माथिल्लो पदमा उठिएला– फरक कुरा । तर पाण्डे यो सरकारको रक्षाकवच बनेका थिए । प्रधानमन्त्रीले मुच्र्छित सपनाहरूमा पानी छम्केर जगाएको एकलौटी टे«डमार्क लिँदा पनि अरु कसैको दाबी थिएन । बरु सुरेन्द्र पाण्डेहरूको निस्वार्थ साथ थियो ।
यो ३ वर्षमा सरकारले जगाएको एउटै काम हो आशा । तर आशाको यस्तो रूपान्तरण भयो कि, ट्विटरमा पार्टीकै वरिष्ठ नेताहरूलाई गाली गरेर लेखेबापत ‘रेलको महाप्रबन्धक’ सम्म पाइन थाल्यो । यतिमात्र होइन, जुन सरकारको अध्यक्ष छन्, उसैलाई सराप्नेहरू रेडियो नेपालको ‘सञ्चालक’ भए । कयौँ गल्ती गर्नेहरू नै हजुरको शालिक बनाउने हामी हौँ भनेपछि माफ पाउनेभित्र परे । इमान्दार र असल कार्यकर्ताहरू ‘कुन्नि कसले केरा हेरेको जस्तो’ करार हुँदै ७ वर्ष पार भइसकेको छ । फेरि पनि नेकपा सरकारसँग आशा भने मरेको छैन । यही पार्टीले केही गर्छ भनेर आशा गर्दागर्दै कयौँले सातपटक नियुक्ति पाइसके । कयौँको दौरासुरुवाल यत्तिकै ढुसी परेर गन्हाउन थाल्यो ।
सरकारले के दियो ? अचेल भन्ने गर्छन् धेरैले– आशा । आशा के भयो त ? आशा भयमा परिणत भयो । कार्यकारी अध्यक्ष, वरिष्ठ नेता, केपी ओलीलाई ‘बाबै’ भन्नेहरू नै आशामा बसे । त्यसरी आशा गर्नेमा नेवारहरू बढी छन् । केशव स्थापित, रामवीर मानन्धर पनि थिए शायद । तर ओली ‘कृष्णगोपाल’ अस्त्र हानेर अरुलाई विस्थापित गरिदिन्छन् । गोकुल बाँस्कोटा र महेश बस्नेतलाई जुधाएर योगेश भट्टराईहरूलाई तर्साउँछन् । विष्णु पौडेललाई पछुवा बनाएर ईश्वर पोखरेललाई ‘अमलेख’ गरिदिन्छन् । शंकर पोखरेललाई ‘तथास्तु’ भनेर यामलाल कँडेल मात्र होइन, वामदेव गौतमलाई पनि ‘प्रदीप नेपाल’ बनाइदिन्छन् । आफ्नैहरू त प्रधानमन्त्रीसँग यति हायलकायल छन् भने ओलीसँग पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल नै भयभित भइरहँदा सुरेन्द्र पाण्डेलाई यिनले राज्यमन्त्री दिन परे पनि दिन्नन् भन्नेमा म चैँ ढुक्क छु ।
प्रधानमन्त्रीले १२ औँ पटक मन्त्रिमण्डल विस्तार गर्दा वरिष्ठ नेता झलनाथ खनालको रक्तचापलगायतले अस्पताल भर्ना हुनुप¥यो । कुरा कर्णालीका भएका थिए कार्यकारी अध्यक्षसँग । घर पुग्दा मन्त्रिमण्डल विस्तार भइसकेको मिडियाबाट थाहा पाए । स्वयं रामप्रसाद सापकोटा दीपशिखा, लेखनाथ न्यौपानेलगायतका नेताहरूको फेसबुक स्ट्याटसले कार्यकारी अध्यक्षको ‘स्ट्याटस’मा राम्रै मजाक गरिरहेको थियो । प्रधानमन्त्री पाइन्जेल अँचेट्न र घचेट्न कति माहिर हुनुहुन्छ ? एमालेको नवौँ महाधिवेशनमा झलनाथलाई मौन बनाएर माधव नेपाललाई आमनेसामने पार्दा वामदेव प्रयोग हुनु भयो । पछि एकता प्रकरणमा माधव नेपाललाई वरियता दिएर झलनाथलाई १७ महिना झुलाइदिनु भयो । फेरि झलनाथलाई वरियता दिएर माधव नेपाललाई तल झार्दा नेपाल ‘कमजोर’ नभएपछि प्रचण्डलाई भन्नु भयो, ‘तपाईं मतिर आउने कि माधव नेपालतिर ?’ प्रधानमन्त्री आशा देखाउनु हुन्छ, डर लाग्ने बनाउनु हुन्छ । ‘अब त मेरो पालो’ भन्नेहरूलाई ‘हिस्स बूढी हरिया दाँत’ पार्दै निःशुल्क रक्तचाप बढाइदिनु हुन्छ । पार्टीभन्दा सरकार ठूलो । ठूलो सरकारको यो तीन उपलब्धीबाहेक चौथो उपलब्धि लेख्न त सरकारको चारवटा टेलिभिजन च्यानल, गोरखापत्र, रेडियो नेपाल, रासस छँदैछन् । जहाँ सरकारकै मान्छेहरू प्रधानमन्त्रीलाई अपमान हुने शब्द वाचन गर्न बाबुराम भट्टराईहरूलाई प्रयोग गरिरहेका छन् । हाम्रो काम देखेको लेख्ने हो । केही पद पाइन्छ भनेर आशा गर्ने, सरकारसँग डराउने अनि रक्तचाप किन बढाउने ? पंक्तिकार यो मामलामा ढुक्क छ । तपाईं पनि ढुक्क हुनुुहोस् । अब आशा कम गर्नुहोस्, त्यसपछि डराउनु पर्दैन । जब आशा र डर बोक्नुहुन्न भने रक्तचाप बढ्दै बढ्दैन । ढुक्क हुनुहोस् । एकथान संगठित सदस्य हुँ, एक भोट हुँ भनेर आफूलाई आमनेपाली ठान्नुहोस् । दशैँको एकमुष्ट शुभकामना प्रिय पाठकहरू !
[email protected]
टिप्पणीहरू