लेखामा लफडा
![लेखामा लफडा](https://janaaastha.prixacdn.net/media/albums/cancer-hospital-_xIAuQC8zJl.jpg)
चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आर्थिक प्रशासन शाखामा कर्मचारीको रोइलो देखिएको छ । लेखा अधिकृतको जिम्मेवारीको विषयलाई लिएर रडाको मच्चिएको प्रष्ट देखिन्छ । तर यो सब भाउँतो कमिसन चक्करकै कारण भएको चर्चा पनि छ ।
अमृता कोइराला लोकसेवाबाट यस अस्पतालको लेखा अधिकृत भई आएको दुई वर्ष हुनै लाग्यो । वरिष्ठ लेखा अधिकृत पिताम्बर उपाध्यायले उनलाई फार्मेसी र नर्सिङ कलेजको काममा झुलाएर अस्पतालको हिसाबकिताबमा अधिकार विहीन बनाएको कुरा बाहिरियो । त्यसपछि गत असोज २७ गते कार्यकारी निर्देशकको तर्फबाट ३० वटा बुँदा समेटेर उनको नाममा लेखिएको कार्य विवरण फारममा पनि एक हिसाबले त्यस्तै देखिन्छ । अमृताले उक्त फाराम बुझ्नै चाहिनन् । असन्तुष्टि जनाउँदै हो वा के हो कुन्नि (उनी ज्वरो आएर भन्छिन्) केही दिन अस्पतालमा हाजिर पनि भइनन् । दशैँको मुखमा उनको तलब नै रोकिएको बताइन्छ ।
विभिन्न ठूला–ठूला खरिद भइरहने यस अस्पतालमा व्यापक कमिसनको खेल हुने जानकार बताउँछन् । त्यहाँको चेक चलाउने तथा हिसाबकिताबको अधिकार नपाएपछि अमृता असन्तुष्ट भएकी बुझिएको छ । वरिष्ठ लेखा अधिकृत पिताम्बर उपाध्यायले अमृताले ठूलो भाग खोजेकी बताए । आफ्नो कुर्सीमा उनले आँखा लगाएकी पिताम्बर बताउँछन् । यसबीच अमृताले अस्पतालले भुक्तानी दिनुपर्ने केही पार्टीका मान्छेसँग कमिसन मागेको हल्ला छ । काम गरिदिएबापत् कसैले खुसी भएर केही दिन्छ भने त्यो लिनु अनुचित नभएपनि यदि कसैले ठाडै कसिमन माग्छ भने गलत हुने वरिष्ठ लेखा अधिकृत बताउँछन् । तर आफूले कमिसन मागेको कुरा निराधार तथा आफूविरुद्ध फैलाइएको अफवाह भएको भन्दै त्यसो भन्नेहरुलाई प्रमाणित गरेर देखाउन अमृता चुनौती दिन्छिन् । गत मंगलबार कार्यकक्षमा यिनै कुरा सोधपुछ गर्दा जवाफ दिने क्रममा गहभरि आँसु बनाउँदै उनले आफूमाथि अन्याय भएको दुःखेसो पोखिन् ।
अमृताले आफूले जिम्मेवारी नपाएको भन्याभन्यै गरेपछि विस्तृत रुपमा पदको काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकार समेटेर कार्य विवरण लेखेर दिएको तर त्यो बुझ्नुको साटो अमृता अझै बटारिएर हिँडेकी हुँदा उनले के चाहेकी भन्ने नै आफूले बुझ्न नसकेको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम बताउँछन् । तर उनको तलब भने नरोकिएको बताउँदै कार्यकारी निर्देशकले भने, ‘चेक काटिएकै छ, उहाँ आफैँ बुझ्न नआएपछि कसरी पाउनुहुन्छ ?’
यता, आफू आएको दिनको पनि गत मंगलबारदेखि हाजिर काटिएको अमृताले बताएकी छिन् र आफूले अझै तलब नपाएको पनि बुधबार उनले सुनाइन् । ‘फार्मेसी हेर्ने मान्छे अर्कै पदपूर्तिबाट ल्याउनुपर्ने हो’, उनी भन्छिन्, ‘मलाई चाहिँ फार्मेसी हेर रे, नर्सिङतिर हेर रे ¤ त्यसरी छुट्याउन मिल्दैन के ¤’, उनले थपिन्, ‘केन्द्रिकृत हुनुपर्छ तर मलाई चाहिँ एकापट्टि हेर भनेर एकापट्टि बाइकट गराउने काम भएको छ । कति टिप्पणी उठ्छ, हस्पिटलमा कति फाइलहरु उठ्छ, त्यो सबै फाइल लेखा अधिकृतसम्म पनि आउनुपर्छ भन्ने मेरो कुरा हो ।’ आफूले यही कुरा डाइरेक्टरलाई क्लियर नै भनेको उनी बताउँछिन् । ‘चेकचाहिँ लेखाप्रमुख, डाइरेक्टर र मिल्छ भने लेखा अधिकृतको पनि सही गरेर काम गरौँ । मिल्दैन भनेपनि लेखा प्रमुखका केही अधिकार लेखा अधिकृतलाई प्रत्यायोजन गरिनुपर्छ’, उनले भनिन्, ‘चेक वरिष्ठ लेखा अधिकृतले नै चलाएपनि मलाई लेखाका सबै कामकुरामा इन्भल्व गराउनुपर्छ ।’
यस अस्पतालकी बोर्ड मेम्बरसमेत रहेकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँग गत बुधबार सम्पर्क राख्दा अहिलेसम्म यसबारे आफूलाई जानकारी नभएको र डाइरेक्टरसँग बुझेर समस्या सुल्झाउन पहल गर्ने मेयरले बताइन् ।
– अजय गोर्खाली
टिप्पणीहरू