कमरेडहरु एकार्कासँग यतिसम्म क्रुद्ध
अघिल्लो साताको आइतबार नेकपाका अर्का अध्यक्षनिकट शीर्ष पाँच नेतावीच जुम बैठकमा भएको संवादको केही अंश गताँकमा प्रकाशित गरिएकोमा थप विवरण प्राप्त भएको छ । दशैँको शुभकामनासङ्गै नेकपा र सरकारको नेतृत्ववीच भित्रभित्रै पाकिरहेको पछिल्लो खिचडी आदरणीय पाठकहरुसामु जस्ताको तस्तै प्रस्तुत छ ः
सचिवालय र स्थायी समितिको बैठकबाट दुईजना अध्यक्षमध्ये केपी ओलीले आवश्यक सल्लाह र सहमतिमा सरकार हाँक्ने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि त्यसैगरी कार्यकारी अध्यक्षको रूपमा पार्टी गतिबिधि अघि बढाउने निर्णय भएको थियो । दश दिनभित्र पार्टी एकताका बाँकी सांगठानिक काम पूरा गर्ने निर्णयसमेत भएकै हो । तर, सहमतिअनुसार, फिटिक्कै काम कुरा अघि नबढेपछि आपसी छलफलमा प्रवक्ता नारायणकाजीले भन्नुभयो ‘अब माधव कमरेडले भनेजसरी नै जानुपर्छ, कठोरभन्दा कठोर कदम चाल्नैपर्ने हुन्छ ।’
त्यसपछि उपाध्यक्ष तथा राष्ट्रिय सभामा मनोनित सांसद वामदेव गौतमले थप्नुभयो ‘केपीले खुराफात र षडयन्त्रबाहेक केही नगर्ने भए त ?“ गौतमको एक्कासी व्यक्त आक्रोशपूर्ण प्रतिक्रियाले जुम मिटिङ्गमा सहभागी सबै नेतालाई झस्काइदियो ।
खनालको व्यङ्गयमिश्रित जिज्ञासाको जवाफ दिनेक्रममा गौतमले भन्नुभयो ‘म त सीधा मान्छे, जे मनमा छ त्यही भन्ने, गर्ने हो ।’ गौतमले आफूलाई सोझो सीधाको संज्ञा दिएपछि माधव नेपालले पनि गौतमलाई नै औँल्याउँदै भन्नुभयो– ‘छ बुँदे ल्याएर तपाईंले भूल गर्नुभयो कमरेड । त्यतिबेला हामीसँग एक वचन सोध्नुभएन ।’
सबैको भनाई र पेचिलो जवाफ सुनेर बस्नुभएका अध्यक्ष प्रचण्डले जिज्ञाशा पोख्नुभयो ‘साँच्चि वामदेव कमरेड सोझो हो कि, बहकिएको हो ?’ सबै गौतममाथि खनिन थालेपछि नारायणकाजी पनि के कम, भनिहाल्नुभयो ‘होइन वामदेव कमरेड, तपाईंले एक्कासी किन छ बुँदे ल्याएको ?’
सबैले आफूमाथि जिज्ञाशा बर्साएपछि वामदेवले दिएको जवाफ भने यस्तो थियो ‘केपीले पार्टी नफुटाउन् भनेर ।’ पार्टी विभाजनको कुरो सुन्नेबित्तिकै नेता नेपालले तात्दै भन्नुभयो ‘केपीले पार्टी फुटाउनु र चलाउनु भनेको संसारको आठौं आश्चर्य हुन्छ । वामदेव कमरेड, तपाईंलाई कसले यस्तो हावा सुझाव दिन्छ ? कसले भड्काउँछ ? हामीले पनि अनुमान गरेका छौँ ।’
त्यसपछि प्रचण्डले थप्नुभयो ‘वामदेव कमरेड, तपाईं किन प्रायः अन्तिम चरणमा भड्किने गरेको ?’ गौतम मौन बसेर सबैको कुरो सुनिरहनुभएको थियो । त्यत्तिकैमा खनालले सुझावको शैलीमा भन्नुभयो– ‘हामी सधैं तपाइँकै साथमा छौं है, अब भने सावधानी अपनाउनुपर्छ ।’ त्यसपछि बल्ल गौतमले आफ्ना कुरा राख्दै ‘मैंले धोका पाएर त केहि हुँदैन, पार्टी र देशले पाउनुभएन । त्यसैले अब म सजग हुन्छु’ भनेर सबैलाई आश्वस्त पार्नुभएको थियो । गौतमले सजगता र सावधानी अपनाउने कुरो राखेपछि माधव नेपालले अध्यक्ष प्रचण्डतिर औंल्याउँदै भन्नुभयो ‘अब बैठक बोलाउन प्रचण्ड कमरेडले नै समय र स्थान मिलाउनुपर्ने हुन्छ ।’ दाहालले सोध्नुभयोे, ‘हुन्छ तर तपाईंहरूले नै भन्नुहोस्, केपीले आफ्नो रबैया छाडेनन् भने के गर्ने ?’ अध्यक्ष दाहालको प्रश्न भुईंमा नपर्दै गौतमले उपाय सुल्झाउनुभयो ‘के गर्ने नि, पार्टी निर्णय नमाने कठोर कदम चाल्ने ।’
गौतमको कडा प्रतिक्रिया सुनेपछि खनालले आफ्नो जिज्ञाशा फेरि उतैतिर तेस्र्याइदिनुभयो ‘अनि फेरि अन्तिममा तपाईं उतै बटारिने त होला नि !’ तर वामदेवले सबै कुरो बुझेझैँ भन्नुभयो ‘अब म थाकेँ । मेरो केही लागेन । मैले उनलाई सुधार्न सकिनँ ।’
टिप्पणीहरू