जन्मिएलगत्तै नयाँ अनलाइन ठहरै

जन्मिएलगत्तै नयाँ अनलाइन ठहरै

ठूलै तयारीसहित एक सय दिनअघि शुरु गरिएको नेपाली पब्लिक डटकम (अनलाइन खबर पत्रिका) को यात्रा सम्पादकसहित ११ जना पत्रकारले सामूहिक राजीनामा दिएपछि अनिश्चित भएको छ । गत मंगलबार आफू सम्पादक रहेको अनलाइनमा गैरजिम्मेवार ढंगले समाचार प्रकाशित भएपछि आफूहरू राजीनामा दिन बाध्य भएको सम्पादक कला अनुरागीलगायतकाले बताएका छन् ।

सम्पादकीय स्वतन्त्रताको कुरो उठाउँदै सम्पादक अनुरागीको हस्ताक्षर रहेको बिमल नेेपाल र केेेदार श्र्रेष्ठ हरुको राजीनामा पत्रमा भनिएको छ ‘व्यवस्थापनले रुचि लिएका विभिन्न समाचार सामग्रीहरूका सन्दर्भमा सम्पादकीय स्वतन्त्रताको सिद्दान्तलाई आत्मसात् गरी सञ्चारमाध्यमका सञ्चालक र व्यवस्थापकले समाचार संकलन,सम्पादन,प्रस्तुती र सम्प्रेषणमा कुनै पनि प्रकारको हस्तक्षेप वा प्रभाव नपारी सम्पादकीय स्वतन्त्रताको उच्च सम्मान, संरक्षण र संवद्र्धन गर्नुपर्दछ भन्ने आचारसंहिता स्मरण गराइरहयौँ । त्यसका बाबजुद् सम्पादकीय स्वतन्त्रतामाथि पूर्ण हस्तक्षेप भएपछि सम्पादकीय स्वतन्त्रताको पक्षमा अडिग रहँदै हामीले सामूहिक राजिनामा पेश गरेका छौँ ।’

सम्पादक अनुरागी यसअघि कान्तिपुर दैनिकसँग सम्बद्ध थिए । नेपाली पब्लिकका प्रकाशक सुदिपचन्द्र बख्रेल हुन् भने अध्यक्षमा सुरज खनाल रहेका छन् । आफू सम्पादक र संवाददाता रहेको नेपाली पब्लिक डटकममा समाचार र सम्पादन समूहको जानकारीबेगर व्यक्तिगत स्वार्थमा समाचारहरू प्रकाशित हुन थालेपछि आफूहरूले राजीनामा दिएको उनीहरूको दाबी छ ।

केहि दिनअघि अध्यक्ष खनाल र प्रकाशक बख्रेलको रुचिमा ‘एकजनासँग रकम लेनदेन र मोलमोलाईको कुरो नमिलेपछि छापिएको समाचारले आफूहरूको मानमर्दन भएको’ राजीनामा दिनेहरूले बताएका छन् । अष्ट्रेलियाबाट फर्केका एकजना नेपालीसँग पहिलेदेखि रहेको व्यक्तिगत चिनजानलाई दुरूपयोग गरी लाखौं रूपैयाँको बार्गेनिङमा कुरो नमिलेपछि छापिएको समाचारले एक दर्जन पत्रकारलाई संयुक्त राजीनामा दिन बाध्य पारेको बताइन्छ ।

यसबीच धेरैवटा सञ्चार र प्रकाशन गृहबाट धेरैजना पत्रकारले कोरोना महामारी र लकडाउनको कारण रोजागारी गुमाएका छन् । केहीले रोजगारी नगुमाए पनि बेलैमा तलब पाएका छैनन् । चाडबाडको मुखमा ती सबैको घर परिवारमा निराशा छाएको छ । अर्कोतर्फ कुनै सञ्चारमाध्यममा प्रकाशक र अध्यक्षले सम्पादकीय स्वतन्त्रता हनन् गरेपछि दशैंको मुखमा दर्जन पत्रकार संयुक्त राजीनामा गर्न बाध्य भएका छन् । आखिर जताबाट पनि पेलाईमा पर्ने चाँहि पत्रकार नै हुन् भन्ने यथार्थ चरितार्थ भएको छ ।

प्रकाशक सुदिपचन्द्र बख्रेल पेशाले पत्रकार होइनन् । उनी पुतलीसडकस्थित एमजी ग्रुप कन्सल्टेन्सीका मालिक रहेकाे बताइन्छ। केही महिनाअघि मात्रै उनले आफ्नो कन्सल्टेन्सी रहेको स्टार मलमा उक्त अनलाइन पनि सञ्चालन गरेका थिए । खनाल र बख्रेलले भने सम्पादक समूहले आफूहरूको योजनाबमोजिम समाचार संकलन र प्रकाशन नगरेपछि अष्ट्रेलियाबाट फर्केका एकजना नेपाली बिरुद्धको समाचार प्रकाशित गर्न आफूहरू बाध्य भएको निकटस्थहरूसँग बताएका छन् ।

टिप्पणीहरू