जासुसीमा नेपाली जेलिँदा
बेइमानीले हैन, गरिबीका कारण निम्तिएको मजबुरीका कारण एउटा नेपाली छोरो यतिबेला भारतीय प्रहरीको हिरासतमा छन् । आरोप छ, लामो समयदेखि सिमानामा लड्न तयार भई बसेको भारतविरुद्ध चीनका निम्ति जासुसी गरेको ।
भदौ २९ गते सोमबार सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएका पितम्पुरा बस्ने भारतीय पत्रकार ६१ वर्षीय राजेश शर्मा र उनीसँग जोडिएका नेपाली शेरसिंह बोहराको प्रसंग हो यो । राजेश २०१९ को जनवरीदेखि यस वर्षको सेप्टेम्बरबीच ३० लाख भारु. चीनबाट बुझेको प्रमाणसहित पक्राउ परेको भनिएको छ । उनीमाथि भारतको रक्षा र विदेश मामिलासम्बन्धी सूचना चीनको खुन्मिङ प्रान्तका दुई व्यक्तिलाई उपलब्ध गराएको आरोप छ । तर, शेरसिंह भने दिल्लीको महिपालपुर क्षेत्रमा चिनियाँद्वारा सञ्चालित कम्पनीका जागिरे थिए र चीनमा औषधी निर्यात गर्थे । राजेशकैजस्तो आरोपमा एक चिनियाँ युवती छिङ सि पनि पक्राउ परेकी छन् । तर, कम्पनीका मुख्य मालिक चिनियाँ नागरिक भने हालसम्म समातिएका छैनन् ।
राजेश सन् २०१४ देखि चीनको अंग्रेजी साप्ताहिक ग्लोबल टाइम्समा लेख्ने गर्थे । पछि उनको खातामा पैसा ओइरिन थाल्यो । त्यही पैसालाई भारतीय प्रशासनले जासुसीको आम्दानीका रुपमा चित्रित गरिरहेको बताइन्छ । प्राप्त जानकारीअनुसार, राजेशले विस्तारै–विस्तारै भारतीय सेनाका लागि विभिन्न तवरले रेलबाट पठाइने हतियार र रासनलगायत लजिस्टिक सामानका सूचना संकलन गर्न थाले । यसक्रममा राजेशले जोसँग खबर मागे, भारतीय सुरक्षा संयन्त्रले तिनलाई सोधपुछ गर्दा उनको संलग्नता खुल्न आएको भनिएको छ ।
सैनिक अभ्यासमा ‘बेटल इन्डिकेशन’, अर्थात् गुप्तचरी सूचनाको आधारमा रणनीति तय हुन्छ । एउटा हतियार लैजाँदा त्यसनिम्ति कति मान्छे खटिन्छन् ? त्यसले कति रेञ्जसम्म हान्न सक्छ ? यी कुरा सेनाकै मान्छेलाई मात्र थाहा हुन्छ । र, दुश्मनसँग प्रतिरोध गर्न त्यही आधारमा अनुमानित संख्यासहित रणनीति तयार पारिन्छ ।
राजेश अहिले भारतीय सुरक्षा निकायको हिरासतमा छन् । कानुनतः उनी बदमास भए पनि नेपालीले त्यत्रो काम गर्दैन भन्ने भारतीयहरुले पनि बुझेका होलान् भन्ने ठम्याई नेपाली दूतावासका अधिकारीहरुको छ ।
नाइजेरियनहरुले पनि सानातिना मान्छेको नाममा बैंक अकाउण्ट खोल्ने र आएको पैसा तिनीहरुमार्फत झिकाउने गर्छन् । नेपालमा रामकुमार भद्रपुरियाहरुले मच्चाएको एलसी काण्ड यही प्रकृतिको हो । फलतः प्रहरीले तिनै ठेलावाला, भरियाजस्ता नपत्याउँदा मान्छेसँग सोधपुछ गर्छ, किनकि नागरिकता प्रयोग गरी तिनकै नाममा कम्पनी खोलिएको हुन्छ । मुख्य मान्छेचाहिँ त्यतिञ्जेल आफ्नो बाटो लागिसकेको हुन्छ । शेरसिंहको हकमा पनि यस्तै भएको अनुमान छ । चिनियाँले उनका नाममा कम्पनी खोले । तर, उनी ‘दरबान’ वा ‘बहादुर’ न हुन्, रोजीरोटीका लागि लाए–अह्राएको काम गर्न तयार भए ।
टिप्पणीहरू