को हुन् शम्भु पौडेल ?

को हुन् शम्भु पौडेल ?
तीन साताअघि सञ्चालक समितिबाट बाहिरिएका नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोना सङ्क्रमणबाट आइतबार अपरान्ह निधन भएको छ । झण्डै ३५ वर्षदेखि बैंकको सञ्चालक समितिमा सदस्य र अध्यक्ष रहेका ७८ वर्षीय पौडेलले असोज तेस्रो साता अवकाश लिएका थिए । अवकाशको भोलिपल्टै सङ्क्रमण पुष्टि भएपछि अस्पताल लगिए पनि उपचारकै क्रममा हिजो दिउँसो निधन भएको हो ।
लामो समय नेपाल राष्ट्र बैंकमा सेवा गरेका पौडेलले ४० को दशकको मध्यतिर त्यहाँबाट अवकाश लिएका थिए । प्रधान सहायकस्तरको कर्मचारी भएपनि पौडेललाई त्यतिबेलाका गभर्नर कल्याणबिक्रम अधिकारीको कार्यकक्षमा आउजाउ गर्न कुनै रोकतोक थिएन । उनी नेपाल राष्ट्र बैंकले झण्डै चार दशक अघिदेखि प्रकाशन गर्दै आएको साहित्यिक द्वैमासिक पत्रिका मिर्मिरेको सम्पादक र बैंकर्स क्लबका व्यवस्थापक समेत भएका थिए ।
२०३६ सालको विद्यार्थी आन्दोलनलाई समर्थन गर्दै राष्ट्र बैंकमा भएको कर्मचारी आन्दोलनमा तत्कालीन कर्मचारी दिपेन्द्रबहादुर क्षेत्रीसहित पौडेललाई प्रहरीले पक्राउ गरी महेन्द्र पुलिस क्लबमा थुनेको थियो । पछि क्षेत्री बैंकको गभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत बने । पौडेल ५० को दशकको प्रारम्भमा राष्ट्रिय बीमा संस्थानको सञ्चालक र पछि त्यहिँ कार्यकारी अध्यक्ष नै बनेका हुन् ।

टिप्पणीहरू