भारतको दाउ, काँग्रेसको भाउ

भारतको दाउ, काँग्रेसको भाउ

भारतीय खुफिया एजेन्सी ‘र’ का प्रमुख सामन्तकुमार गोयलले हालै प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको गोप्य भेटघाटपछि संघीय सरकारको समीकरणमा फेरबदल आउनसक्ने सम्भावनाको बारेमा विभिन्न अड्कल लगाउँदै काठमाडौंको राजनीतिक माहौल समेत एकाएक तातेको छ ।

नयाँ परिस्थिति विशेषगरी मधेशवादी दलहरूको सहभागितामा सिर्जना हुनसक्ने आँकलन गरिए पनि तराई-मधेश राजनीतिका जानकारहरू तत्काल त्यो सम्भावना नरहेको बताउँछन् । उनीहरूका अनुसार, यतिखेरको शक्तिशाली नेकपा सरकार तल-माथि जे हुनको लागि पनि सत्तारुढ नेकपाभित्रैको घटनाक्रम र गतिविधि मात्र कारक हुनसक्छ । अन्य राजनीतिक दलले मात्र अहिलेको अवस्थामा माहौल परिवर्तनको सामर्थ्य राख्न नसक्ने उनीहरूको विश्लेषण छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लामो समयदेखि सतहमा देखिएको अन्तरबिरोध घट्नुको सट्टा बढेकाले पनि त्यहिँ भित्रबाट केही भएमात्र राजनीतिक फेरबदलको सम्भावना रहेको ती विश्लेषकहरूको निश्कर्ष छ । दुईजना अध्यक्षबीचको रस्साकस्सीलाई मध्यनजर गर्दै दक्षिणतर्फको छिमेकीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पूर्व जानकारी गराउँदै आएको भने उनीहरूले दाबी गरेका छन् । भारतीय पक्षले देउवालाई आन्तरिक राजनीतिको परिस्थिति र घटनाक्रमलाई सुक्ष्म ढंगले नियाल्दै आवश्यकताअनुसार ‘मुभ’ हुँदा आफ्नो सहयोग रहने वचन दिएर उच्च सतर्कताको स्थितिमा राखेको समेत स्रोतले बताएको छ ।

तर,देउवालाई तीनवटा सहयोगको आवश्यकता टड्कारो देखिन्छ । देउवा निकटस्थहरूको बुझाईमा तत्कालीन एमाओवादी अध्यक्ष प्रचण्डलाई लामो समयदेखि भरथेग गरेको भारतले नै तत्कालीन एमालेसँग एकीकरणको वातावरण मिलाइदिनु गम्भीर भूल थियो । अब नयाँ परिस्थिति निर्माणको लागि काँग्रेसको आगामी महाधिवेशनलाई ध्यानमा राखेर विशेषगरी सभापति देउवालाई आवश्यकताअनुसार सहयोगको जरुरत रहेको भारतले बुझ्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । तेस्रो तथा सबैभन्दा महत्वपूर्ण खाँचोचाँहि महाधिवेशनमा सभापति उम्मेदवारीको लागि सहयोगको वचन हो । त्यसो गर्न अहिलेदेखि नै भारतनिकट भनेर चिनिएका विमलेन्द्र निधीलगायत सभापतिका आकांक्षीहरूको ‘टोन डाउन’ गरिदिनुपर्ने हुन्छ ।

देउवा निवास बूढानिलकण्ठ आउजाउ गर्नेहरूले पनि शेरबहादुरको भारतसँगको पछिल्लो एजेण्डा यहि नै हो भनेका छन् । उक्त तीनवटै बुँदा र रोडम्यापलाई व्यवहारमा परिणत गराउन भारतले आफ्नो ‘सेकेण्ड लाइन स्ट्राटेजी’ अवलम्बन गर्नुपर्ने देउवानिकट काँग्रेसीहरूको तर्क छ । हुन तः देउवा एक्लैले चाहँदैमा मात्र पनि ती सबै कुरा पूरा हुन्छन् भन्न सकिँदैन । नेकपाभित्रको घटनाक्रमले प्रधानमन्त्री र अर्का अध्यक्ष प्रचण्डबीचको दूरीलाई कुन हदसम्म बढाउँछ भन्ने कुरा यसमा महत्वपूर्ण छ ।

उनीहरूबीच दूरी बढाउनको लागि कर्णाली प्रदेश सरकारविरुद्ध  असहज अवस्था योजनामुताविक सिर्जना गराइएको काँग्रेस तथा भारतीय पक्षको विश्लेषण छ । यसबीच प्रधानमन्त्रीले एक्लौटी ढंगले गर्नुभएको अमेरिका र बेलायतको लागि नयाँ राजदूतको सिफारिश र तीनवटा मन्त्रालयको रिक्त मन्त्री नियुक्तिमा गरिएको एकपक्षीय निर्णयले पनि आगोमा घिऊ थपेको उनीहरूको बुझाई छ ।

टिप्पणीहरू