पर्दाखेरि प्रदीप पनि प्यारो !

पर्दाखेरि प्रदीप पनि प्यारो  !

सहज अवस्थामा बिगतको योगदान र अहिलेको बिमारीलाई नदेखे झैं गर्नेहरूले एकाएक नपत्याउँदो आफन्त,साथीभाइ वा कोही कसैलाई भेट्यो भने प्रष्ट हुन्छ कि ऊ आफै अप्ठेरोमा छ । चलनचल्तिको त्यहि उखानलाई चरितार्थ गर्दै लामो समयदेखि अस्वस्थ अवस्थामा रहनुभएका तत्कालीन एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको गोठाटारस्थित निवासमा बालुवाटारका सल्लाहकार र मन्त्रीहरूले शनिवार डेढ घण्टासम्म राजनीतिक ‘शिष्टाचार’ भेट गरेका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल,प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल,स्वास्थ्यमन्त्री भानुभक्त ढकाल,प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा नेपाललाई भेट्न गोठाटार पुगेका हुन् । तीन वर्षदेखि निकै बिरामी परेको कारण घरमै स्वास्थ्यलाभ गरिरहनुभएका नेपालको पछिल्लो अवस्थाबारे पहिलेदेखि नै प्रधानमन्त्री र पार्टीलाई राम्रो जानकारी छ । तर,अहिले भने कोरोना संक्रमणको उच्च जोखिमवीच नेपाललाई बालुवाटारको टिमले पार्टी काममा सक्रिय हुन अनुनय गरेको स्रोतको दाबी छ । ‘पार्टीभित्र देखिएको असहज अवस्थालाई मध्यनजर गर्दै कमरेडले पूर्व एमाले पंक्तिमा उर्जा भर्नकै लागि भए पनि केही पहल गर्न पर्यो’ भन्दै पोखरेलले ‘विगतमा झैं यसपटक पनि तपाईंले मात्रै नेतृत्वलाई मिलाउने र जुटाउने विश्वासका साथ’ हामी यहाँ आएका हौं भन्नुभएको थियो । पोखरेलले ‘तपाईंले चाहनुभयो भने माधव र केपी कमरेड एक हुन्छन्, मिलाउनु पर्यो’ भनेपछि प्रदीपको जवाफ थियो ‘म लामो समयदेखि बिरामी रहेको पार्टीलाई पनि थाहा हुनुपर्छ । यस्तो शारीरिक अवस्थामा मैले चाहेर पनि केही गर्न सक्दिँन । तपाईंहरूले नै पहल गर्नुस् । मेरो शुभकामना छ । अहिले मलाई भन्नुभएका कुराहरू नै नेतृत्वसमक्ष पनि राख्नुुस्,मिलिहाल्छ नि !’

स्रोतका अनुसार आफ्नै प्रवृत्तिका कारण नेकपाभित्र एकपछि अर्को संकट देखिएपछि बिग्रँदो अवस्था मिलाउन बालुवाटारबाट उक्त टोली परिचालित भएको हो । पार्टी विभाजनको मुडमा नदेखिएका उनीहरूले नेपाललाई आश्वस्त पार्न ‘हामीहरू दुईजना (अध्यक्ष) को कुरो बोक्दा बोक्दा वाक्क भइसक्यौं । हुन तः प्रचण्ड निकै बाठो हुनुहुन्छ । उहाँले एक्लो पारेर भेट्नुभयो भने जसलाई पनि मोड्न सक्नुहुन्छ । थाहा नपाउने गरी कुरो बिगार्न पनि खप्पिस हुनुहुन्छ । त्यसैले समस्या समाधानको लागि तपाईं अग्रसर हुनुभयो भने नेतृत्वमा रहेका सबै डराउँछन्’ भनेको स्रोतको दाबी छ । उनीहरूले भेटमा ‘प्रचण्ड स्वयँले यसअघि साहित्यिक व्यक्तित्व मात्रै भन्ठानेको त प्रदिप दार्शनिक पो रहेछन्’ भनेको प्रसंगसमेत उठाएका थिए । एकजनाले उक्त प्रसंगमाथि सही थाप्दै भने ‘ हो कमरेड,तीनै जना डराउँछन् तपाईंसँग । त्यसैले तपाईं लाग्नुपर्यो ।’ तर,प्रदिपले बिट मार्दै भनिदिनुभयो ‘अहँ,म अहिले सक्दिनँ । मैले समस्या समाधानको लागि तपाईंहरूलाई जे भनेको छु,उहाँहरूसँग पनि त्यहि कुरो राख्नुस् ।’ डेढ घण्टा यताउतिका कुरा राख्दा पनि प्रदीप खासै सक्रिय नहुने देखेपछि टोली जर्याकजुरुक उठ्ने सुरसार गर्दै थियो पुराना कमरेडले प्रधानमन्त्रीको प्रेस सल्लाहकारतिर औंलो सोझ्याउँदै भनिदिनुभयो ‘तपाईंले ठाउँ छोड्दै हुनुहुन्छ है !’

प्रदीप ०६५ फागुनमा सम्पन्न एमालेको आठौं बुटवल महाधिवेशनमा केपी ओली क्याम्पबाट महासचिव र नवौंमा केपी खेमाबाटै उपाध्यक्षमा उठ्नुभएको थियो भने इश्वर पोख्रेल झलनाथ खनालको उम्मेदवार हुनुहुन्थ्यो ।

टिप्पणीहरू