एकैदिन दुईथरि पाहुना
भोलि एकैदिन नेपालमा दुई अलग मुलुकबाट फरक पृष्ठभूमिका दुईवटा उच्चस्तरीय भ्रमण हुँदैछ । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे मानार्थ सेनापतिको दर्जा ग्रहणको लागि आउने कार्यक्रम यसअघि नै तय भइसकेको छ । भोलि नै दौत्य सम्बन्ध स्थापनाको ५८ बर्षपछि पूर्व कम्युनिष्ट मुलुक हंगेरीका विदेश तथा वाणिज्य मन्त्री पिटर सिजारतोको टोली पनि काठमाडौं आउन लागेको छ ।
४२ वर्षीय सिजारको १२ जनाको टोली नै सम्भवतः पहिलो पटक हंगेरीको तर्फबाट नेपाल आउन लागेको उच्चस्तरीय टोली हो । विशेष विमानमा सवार उक्त टोली भोलि थाइल्याण्डबाट साँझ पाँच बजे त्रिभुवन विमानस्थल ओर्लनेछ । थाइल्याण्डअघि उक्त टोलीले कम्बोडिया भ्रमण गरेको थियो ।
स्रोतका अनुसार हंगेरीका विदेश तथा वाणिज्य मन्त्रीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वाणिज्य मन्त्री लेखराज भट्टसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । भ्रमणलाई औपचारिक नभनेपनि हंगेरीको उच्चस्तरीय टोलीले हालको अवस्थामा नेपालको चौबिस घण्टे भ्रमण गर्नुलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । टोली शुक्रबार अपरान्ह चार बजे काठमाडौंबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।
टिप्पणीहरू