कसले कसरी सम्झे गणेशमानलाई ?

कसले कसरी सम्झे गणेशमानलाई ?

सर्वोच्च कमाण्डर गणेशमान सिंहको १ सय ६ औं जन्म जयन्ती आज । सिंहको जन्मजयन्तीका अवसरमा विभिन्न राजनीतिक दलका नेताहरुले सिंहलाई राष्ट्रिय एकताको सम्वाहक र त्यागी नेताका रूपमा सम्झेका छन् । तत्कालीन समयमा राष्ट्रिय एकताका लागि उहाँले खेल्नुभएको भूमिको नेताहरुले प्रशंसा गरेका छन् । सिंहको जन्मजयन्तीका अवसरमा गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा आयोजना गरिएको कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले गणेशमान सिंहले राष्ट्रिय एकताका लागि लिनुभएको पहलका कारण राजनीतिक सहमतिमै नेपालको संविधान जारी भएको बताउनुभयो ।

राष्ट्रिय एकताका लागि उहाँले लिनुभएका कदमहरु कति सान्दर्भिक थिए भन्ने कुरा २०४६ सालमा प्रमाणित गर्नुभएको उहाँले बताउनुभयो । कम्युनिष्ट र काँग्रेस भनेर सधैँ विवाद र बहस हुने गरेकोमा सिंहले त्यसलाई तोडेर राष्ट्रिय एकताको भावना जागृत गराउनुभएको सभामुख सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गणेशमान सिंह राष्ट्रिय एकताका पक्षपाती हुनुहुन्थ्यो भन्ने कुरा २०४६ मा प्रमाणित भएको छ । २०४६ काँग्रेस र कम्युनिष्ट भनेर विभिन्न विवाद, बहस हुने गर्थे उहाँले त्यसलाई तोडेर राष्ट्रिय एकताको भावना जागृह गर्नुभयो । उहाँले राख्नुभएको राष्ट्रिय एकताको भावना अझै परिपूर्ण हुन बाँकी छ तर उहाँले लिनुभएको पहलका कारण कांग्रेस कम्युनिष्ट नभनि नेपालको संविधान जारी गर्न सकेका हौँ ।’’

संविधानसभाका अध्यक्ष सुवासच्द्र नेम्वाङले गणेशमान सिंहको नेतृत्वमा भएको आन्दोलनले निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध सफलता हासिल भएको बताउनुभयो । अहिले राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरुले राजनीतिलाई पेसाका रूपमा लिने गरेको भएपनि सिंहले राजनीतिलाई सधैँ सेवाको रूपमा लिने गरेको उहाँले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले राजनीतिमा लागेकाहरुको बीचमा पदमा पुग्नुपर्छ । अझ शीर्ष तहमा गएकाहरू प्रधानमन्त्री हुनुपर्छ । प्रधानमन्त्री पनि एक पटक भएर पुग्दैन पटक पटक हुनुपर्छ भन्ने छ । तर म आफैँ आग्रह गर्ने गर्छु राजनीति पेसा होइन सेवा हो । त्यतिबेला गणेशमानजीले व्यवहारमा गरेर देखाउनुभयो । आफू प्रधानमन्त्री हुनुभएन् । आफ्ना साथीभाइलाई बनाउनुभयो । त्यसैले धेरै प्रधानमन्त्रीहरु भन्दा अगाडि उहाँको सम्झना गरिन्छ । उहाँको नाम अगाडि आउँछ । सम्मान प्राप्त गर्न प्रधानमन्त्री नै हुनुपर्छ भन्ने नरहेछ भन्ने उहाँले प्रमाणित गर्नुभएको छ ।’’

नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले सिंहले संगठन÷सरकारमा जहाँ भएपनि आफ्नो फरक मत राखेपनि लोकतन्त्र र राजनीतिक दल कमजोर हुने काम कहिले नगरेको बताउनुभयो । पार्टीले गरेका हरेक निर्णयहरू स्वीकार गर्ने सिंहको क्षमता र खुबीलाई आजका नेता कार्यकर्ताहरुले सिक्न जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘संगठन वा सरकारमा जहाँ भएपनि उहाँले आफ्नो विचार राख्नुहुन्थ्यो फरक मतको रुपमा तर उहाँले लोकतन्त्र र राजनतिक दल कमजोर हुनेगरी कहिलेपनि आफ्नो काम गर्नुभएन । पार्टीको निर्णय स्वीकार गर्ने उहाँको क्षमता र खुबीलाई आजको नेता कार्यकर्ताले सिक्न जरुरी छ ।’’

कार्यक्रममा राष्ट्रिय जागरण अभियन्ता तथा सीमाविद् बुद्विनारायण श्रेष्ठलाई शान्ति स्वर्ण पदकबाट सम्मानित गरिएको छ । सम्मानित भएपछि श्रेष्ठले सरकारले सबै पक्षसँग छलफल गर्दै सुझाव संकलन गरी सीमा विवाद हल गर्नुपर्ने बताउनुभयो । चीनले सगरमाथामा आफ्नो दावी गर्दा विपि कोइरालाले विवाद समाधानका लागि खेलेको भूमिका अहिलेको राजनीतिक नेतृत्वले पनि खेल्नुपर्ने उहँले बताउनुभयो । सम्मानले अझै काम गर्ने प्रेरणा मिलेको उल्लेख गर्दै उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतको सम्पूर्ण नेपालको भूमि समेटिएको नक्साहरु प्रकाशनको तयारी गरेको बताउनुभयो । उहाँले ७९ नक्सा सहितको किताब प्रकाशनको तयारीमा आफू रहेको बताउनुभएको हो ।

२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंह विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिनुभएको थियो । नेता सिंहको २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका बनाउनुभएको थियो । २०४६ सालको आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गर्नुभएको थियो ।

टिप्पणीहरू