नौ महिनापछि मैदानमा उत्रदै नेपाली फुटबल टोली
नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशको ढाकामा मैत्रीपूर्ण फुटबलको तयारी गरिरहेको छ । आगामी शुक्रबार हुने पहिलो मैत्रिपूर्ण खेलका लागि गत बिहीबार बंगलादेशको ढाका पुगेको नेपालीले टोलीले केही दिन यता बंगलादेशमा रहेर तयारी गरिरहेको हो ।
करिब नौ महिना पछि फुटबल खेल्न लागेको नेपाली टोलीले शुक्रबार पहिलो खेल खेल्दैछ । काठमाडौंमा एक साताको अभ्यासपछि थप एक साता बंगलादेशमा अभ्यास गर्ने योजना सहित नेपालबाट उडेको टोलीले दोस्रो मैत्रिपूर्ण खेल भने तिहारको भोलिपल्ट अर्थात मंसिर २ गते खेल्नेछ । खेलमा फर्किँन पाएकोमा खेलाडी उत्साहित छन् । सुखद नतिजा ल्याउने लक्ष्यका साथ अभ्यास गरिरहेको उनीहरुले बताएका छन् ।
खेलाडीमा फिटनेस सुधार हुँदै गएको र बंगलादेशसँगको खेलमा राम्रो नतिजा ल्याउनमा आशावादी रहेको प्रशिक्षक बाल गोपाल महर्जनले बताउनुभएको छ ।
बंगलादेशको ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार मैदानमा दुई घण्टा प्रशिक्षण गरेको थियो । नेपाली फुटबल टोली कोभिड—१९ संक्रमणको जोखिमका कारण बिहीबारदेखि ढाकामा होटेलमा क्वारेन्टाइनमा बसेको थियो ।
पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै टोली प्रशिक्षणका लागि मैदानका फर्किएको हो । बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते बंगबन्धु रंगशालामा हुने मैत्रीपूर्ण खेल नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे हुनेछ ।
टिप्पणीहरू