अमेरिका पठाउनुअघि धित मर्नेगरी केरकार

अमेरिका पठाउनुअघि धित मर्नेगरी केरकार

डा.युवराज खतिवडालाई अमेरिकाको निम्ति राजदूतमा गृन सिग्नल दिनुअघि सांसदहरुले मन फुकाएर सोधपुछ गरेका छन् । त्यसक्रममा आज एमसीसी,क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरण,एनसेल,स्वेतपत्र लगायतका विषय उठाइएका हुन् ।

संघीय संसदको सुनुवाई समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले पूर्व अर्थमन्त्री खतिवडामाथि धेरै प्रश्न बर्साएका थिए । सुनुवाइका क्रममा नेकपाका सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री भएको बेला एमसिसी पारित गराउन भूमिका खेल्न नसक्नेले राजदूत भएर कसरी भूमिका खेल्नुहुन्छ भन्दै प्रश्न गर्नुभयो । यस्तै डा. खतिवडा अर्थमन्त्री भएलगत्तै ल्याएको स्वेतपत्रमा अर्थतन्त्रको अवस्था कमजोर देखाउनुको कारण पनि उहाँले सोध्नुभयो । देशमा उच्च आर्थिक वृद्धि भएको अवस्थामा अर्थतन्त्र कोल्याप्स हुन लागेको जस्तो स्वेतपत्र जारी गर्नु अनुचित हुने उहाँको भनाइ थियो । यस्तै क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरणको सम्बन्धमा समेत सांसद पाण्डेले स्पष्ट पार्न आग्रह गर्नुभयो । त्यसबाहेक एनसेल प्रकरणमा सर्वोच्च अदालतको फैसलाको बारेमा केही मुद्दा चलेको भन्ने सुनिएको र त्यसमा अर्थमन्त्री हुँदा मुद्दाको प्रतिवादी नलगाउन निर्देशन दिएको भन्ने प्रश्न उठेको भन्दै स्पष्ट पार्न सांसद पाण्डेले आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डा. खतिवडा अर्थमन्त्री हुनेबित्तिकै ल्याएको स्वेतपत्रलाई लालपत्रको संज्ञा दिनुभयो । उहाँले स्वेतपत्र प्रस्तुत गरेर आफ्नै विश्वसनीयतामाथि प्रश्न उठाउने काम भएको ठोकुवासमेत गर्नुभयो ।

सुनुवाईमा नेपाली कांग्रेसकी सांसद पुस्पा भुषालले डा. खतिवडा अर्थमन्त्री भएपछि धेरै गलत निर्णयहरु गरेको बताउनुभयो । विद्युतीय मोटर र पुस्तकमा कर बढाउने र चक्लेटमा घटाउने काम गरेको र उहाँ अर्थमन्त्रीबाट हट्नेबित्तिकै सरकारले नै त्यसलाई उल्ट्याउने निर्णय गर्नुले डा. खतिवडाका निर्णयहरु गलत थिए भन्ने पुष्टि भएको उहाँले बताउनुभयो । राजदूत भएर एमसीसीको प्रक्रिया अगाडि बढाउन भूमिका खेल्ने आधार स्पष्ट पार्न समेत आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद शिवकुमार मंडलले अर्थमन्त्री भएको बेला आफ्नै नातेदारले चक्लेटजन्य वस्तुहरु आयात गर्ने व्यवसाय गर्ने भएकाले कर घटाइदिएको आरोप लागेको भन्दै स्पष्ट पार्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका जीतेन्द्रनारायण देवले डा. खतिवडालाई राजदूत नियुक्त गरेर प्रधानमन्त्री ओली चुक्नुभएको बताउनुभयो । देशलाई आवश्यक पर्ने व्यक्ति देशभित्रै बसेर काम गर्नपर्नेमा राजदूत बनेर अमेरिका पुग्नु व्यक्तिगत स्वार्थको लागि मात्रै हुने उहाँले बताउनुभयो । नेपाली कांग्रेसका अर्का सांसद भीमसेनदास प्रधानले डा. खतिवडालाई जहिले पनि पद चाहिने गरेको आरोप लगाउनुभयो । आर्यघाट नपुग्दासम्म पदमै बसिरहनुपर्ने प्रवृतिले देशको विकासमा बाधा पुगेको उहाँको भनाई छ ।

सुनुवाईमा जनता समाजवादी पार्टीका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले क्यापिटल मर्चेन्ट बैंकिङ प्रकरणमा डा. खतिवडा गभर्नर भएको बेला मतियारको रुपमा काम गरेको आरोप लगाउनुभयो । तत्कालिन समयमा बैंकिङ कसुर अनुरुप कारबाही हुनुपर्ने व्यक्तिहरुलाई कारबाही गर्न डा. खतिवडाले उपयुक्त कारबाही चलाउन नसकेको सन्दर्भमा प्रश्न गर्नुभयो ।

सांसदहरुको प्रश्नको जवाफमा पूर्व अर्थमन्त्री एवं अमेरिकाका लागि प्रस्तावित राजदूत डा. खतिवडाले अहिलेपनि अर्थतन्त्र सही ठाउँमा नरहेको बताउनुभयो । उहाँले देशको राजस्व र खर्चप्रणाली चापमा रहेको र सबै बजेट खर्च गर्नेहो भने स्रोतमा चाप पर्न सक्ने स्थिति अहिले पनि रहेको बताउनुभयो । उहाँले आफूले स्वेतपत्रमा उल्लेख गरेका समस्याहरु अहिलेपनि रहेको तर केहीहदसम्म सुधार भएको दावी गर्नुभयो ।

टिप्पणीहरू