निर्माणाधीन काठमाडौं भ्युटावर ‘अलपत्र’
काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कस्थित काठमाडौं भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय बनाएको छ । महानगरले अर्को निर्णय नभएसम्मका लागि उक्त भवनको नक्सा पास निष्क्रिय बनाएको जानकारी गराएको छ ।
आवश्यक कानूनी प्रक्रिया पूरा नगरी पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावरको नक्सा पास गरेको भन्दै महानगरले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गरिरहेको छ । गत पुस ५ गते आकस्मिक पत्रकार सम्मेलन गर्दै महानगरका प्रवक्ता नवीन मानन्धरले यसबारे जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनमा भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक नक्सा पास प्रणाली (ईबीपीएस) मार्फत प्रक्रिया नै पूरा नगरी स्वीकृति दिएको देखिएको भन्दै कानूनबमोजिम प्रक्रिया थालनी गर्ने जनाइएको थियो ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले यस सम्बन्धमा अनुसन्धान गरिरहेको छ । समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मका लागि भवनको नक्सा पास निष्क्रिय बनाइएको महानगरले जनाएको छ ।
जारी सूचनामा उल्लेख छ, ‘काठमाडौं महानगरपालिका कार्यालय र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिबिच मिति २०७१–११–२२ मा काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माणका लागि सम्झौता भएको र उक्त प्रालिबाट निर्माण हुँदै गरेको काठमाडौ भ्युटावर भवनको नक्सा पासको सम्बन्धमा छानबिन समिति गठन भई छानबिनको कार्य भइरहेको हुँदा छानबिन समितिको प्रतिवेदन प्राप्त भई कार्यालयबाट निर्णय नभएसम्मका लागि उक्त भवनको नक्सा पास निष्क्रिय रहेको व्यहोरा सरोकारवालाको जानकारीको लागि सूचित गरिन्छ ।’
टिप्पणीहरू