मुस्लिमको प्रवचनमा प्रशासनको रोक्

मुस्लिमको प्रवचनमा प्रशासनको रोक्

ईस्लाम धर्मावलम्बीहरुले निकै महिमा राख्ने ‘मुल्किए ईज्तेमा (धार्मिक प्रवचन)’ आयोजना गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । रौतहटको परोहा नगरपालिका–८, नरकटियामा हुन लागेको ईज्तेमालाई प्रशासनले अनुमति नदिएको हो । 

आगामी माघ २६, २७ र २८ गते मुस्लिम धर्मावलम्बीहरुको धार्मिक परम्परा र रीतितिथिअनुसार ईज्तेमा गर्ने तय भएको थियो । मदरसा ताजवीदुल कुरानले ईज्तेमा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय,रौतहटसँग अनुमति माग्दै सुरक्षा व्यवस्थापन मिलाइदिन आग्रह गरेको थियो । 

संस्थाले लेखेको पत्रमा भनिएको छ,‘तीन दिनसम्म ईस्लाम धर्मावलम्बीहरुको ईज्तेमा (धार्मिक प्रवचन) कार्यक्रम आयोजना हुने भएकोले सो कार्यक्रममा नेपाल र मित्र राष्ट्र भारतबाट समेत सहभागी हुन श्रद्धालु एवं धर्मगुरुहरुको सहभागिता हुनेछ,जसमा ईस्लाम धर्मसँग सम्बन्धित आपसी मेलमिलाप,सद्भाव र शान्ति स्थापनाको लागि भाइचारा एवं शान्तिपूर्ण नमाज र प्रवचन गरिनेछ । सो ईज्तेमामा कुनै पनि किसिमको राजनीतिक उच्छृङ्खलता,अरु धर्मको निन्दाजस्ता बर्खिलाप कार्यहरु गरिने छैन । तसर्थ सो कार्यक्रम सञ्चालन गर्न अनुमति प्रदान गर्नुको साथै शान्ति सुरक्षासमेतको व्यवस्थापन गरी सहयोग गरिदिन अनुरोध छ ।’

कार्यक्रममा धर्मगुरु पनि भारतबाटै ल्याउन लागिएको थियो । तर, प्रशासनले कार्यक्रम गर्न स्वीकृति नै दिएन । प्रशासनबाट इजाजत नपाएपछि ईस्लाम धर्मावलम्बीसम्बद्ध विभिन्न संगठनले विज्ञप्ति जारी गरेर विरोध जनाइरहेका छन् । कार्यक्रम गर्न नदिएर नेपालको संविधानकै उल्लङ्घन गरिएको संगठनहरुको ठहर छ । 

संघीय समाजवादी मुस्लिम संघले कार्यक्रम गर्न पाउनुपर्ने भन्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ । संघले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाउँदै नेपालको संविधानले सुनिश्चित गरेको सबै जात,भाषा,संस्कृति एवं मौलिक अधिकारमाथि आघात पुर्याउने कार्य प्रशासनले गरेको आरोप लगाएको छ । प्रशासनको कदम अलोकतान्त्रिक भएको संघको ठम्याई छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कार्यक्रम स्थगित नभई अन्यत्र सार्न आग्रह गरिएको बताए । सीमानाको छेउछाउ देश–विदेशबाट पाहुना ल्याएर कार्यक्रम गर्दा जोखिम हुन सक्ने भएकाले विकल्प खोज्न भनिएको उनको भनाइ छ । 

‘मुस्लिम धर्मावलम्बीहरुको धार्मिक परम्परा रीतितिथि र अन्य क्रियाकलापहरु सिकाइने एउटा महत्वपूर्ण कार्यक्रम ईज्तेमा हुन गइरहेको हुँदा त्यसलाई प्रमुख जिल्ला अधिकारीद्वारा माथिको आदेश छ भनेर रोक्ने काम गरिएकोमा संविधानप्रदत्त मौलिक हकको हनन् हुनेगरी रोक लगाउने नेपाल सरकारको मनशायप्रति गम्भीर ध्यानाकर्षण भएको छ’,पत्रमा उल्लेख छ । 

रोकतोकबिना कार्यक्रम सञ्चालन गर्ने वातावरण मिलाइदिन आग्रह गर्दै संघले प्रशासनले निर्णय फिर्ता नलिएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । ‘यो राज्य कुनै एकल व्यक्ति,जात धर्म वा सम्प्रदायको मात्र नभई हामी सबै नेपालीको साझा थलो रहेको महसुस हुनेगरी सो धार्मिक क्रियाकलाप बिना रोकतोकसहित निर्विवादपूर्ण तरिकाले सफल तुल्याई सहयोग गरिदिनुहुन नेपाल सरकारसमक्ष हाम्रो पार्टी जोडदार माग गर्दछ’,भनिएको छ,‘आशा गर्दछौं, माननीय गृहमन्त्रीज्यूले यी संविधानसम्मत् जायज मागहरु पुरा गर्नुहुने छ । अन्यथा,माग पुरा गराउने उद्देश्यसहित चरणबद्ध आन्दोलनको घोषणा गर्न बाध्य हुनेछौं ।’

त्यसैगरी,समाजवादी मुस्लिम संघ, नेपालले पनि प्रशासनको निर्णयप्रति असन्तुष्टि प्रकट गरेको छ । प्रशासनले मुस्लिमहरुको संविधानप्रदत्त मौलिक हक खोसेको संघको जिकिर छ । सांसद तथा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमारी साहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै कार्यक्रम सञ्चालनका निम्ति अनुमति दिन अनुरोध गरेकी छन् । 

‘तीन दिनसम्म ईस्लाम धर्मावलम्बीहरुको ईज्तेमा (धार्मिक प्रवचन) कार्यक्रम यस परोहा नगरपालिका–८ नरकटियामा आयोजना हुन लागेकोमा सो कार्यक्रमलाई स्थानीय प्रशासनबाट रोकावट हुन गएकोले सो ईज्तेमा (धार्मिक प्रवचन) कार्यक्रम सञ्चालन गर्न अनुमति एवं शान्ति सुरक्षा व्यवस्थापन गरी सहयोग गरिदिनुहुन अनुरोध छ’,पत्रमा उल्लेख छ । 

पत्र पठाए पनि कुनै जवाफ नआएको साहको गुनासो छ । प्रशासनबाट सबै किसिमको कार्यक्रमलाई रोक लगाएको जानकारी पाएको उनी बताउँछिन् । जनआस्थासँग कुराकानीको क्रममा भनिन्,‘योचाँहि मुस्लिम धर्मावलम्बीहरुको प्रवचनको कार्यक्रम हो । मेरो निर्वाचन क्षेत्रमा यो कार्यक्रम हुन गइरहेको छ । सो कार्यक्रममा असभ्य गतिविधि हुने भनेर केही व्यक्तिले उजुरी दिनुभएछ । त्यसपछि प्रशासनले रोकेको हो । प्रशासनमा बुझ्दा यस किसिमको कार्यक्रममा रोक लगाइएको छ भन्ने जानकारी पाएको छु ।’

यसअघि कोशी प्रदेशको सुनसरीमा पनि सोही खालको कार्यक्रम भएको थियो । त्यसबेला कतैबाट कुनै अवरोध नभएको जानकारहरु बताउँछन् । प्रशासनले कार्यक्रम सञ्चालन गर्न नदिनका लागि सुरक्षा संवेदनशीलताको बहाना बनाएको उनीहरुको आरोप छ । रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कार्यक्रम स्थगित नभई अन्यत्र सार्न आग्रह गरिएको बताए । सीमानाको छेउछाउ देश–विदेशबाट पाहुना ल्याएर कार्यक्रम गर्दा जोखिम हुन सक्ने भएकाले विकल्प खोज्न भनिएको उनको भनाइ छ । 

‘उहाँहरुले कार्यक्रमको लागि अनुमति माग्नुभएको थियो । नेपाल–भारत सीमा नाकामा कार्यक्रम गर्न लागिएकोले विकल्प खोज्न आग्रह गरिएको हो । सो कार्यक्रममा एक लाखसम्म पाहुना उपस्थित हुने रहेछन् । असभ्य घटना हुन सक्छ । हामीले संघीय राजधानी वा प्रदेश राजधानीमा कार्यक्रम गर्न सुझाव दिएका छौं’,उनले भने । 
 
यता,आयोजकले भने कार्यक्रममा अराजक किसिमको गतिविधि नहुने बताएको छ । कार्यक्रम अवधिभर दिनको पाँच पटक नमाज पढिने र निर्धारित समयानुसार धार्मिक प्रवचन हुने आयोजकले जानकारी दिएको छ ।

टिप्पणीहरू