कंकालमा फेरियो एउटा राम्रो कारखाना
बुटवल–नारायणगढ सडक खण्डमा पुनर्निर्माण कार्य चलिरहँदा उबडखाबड बाटोको हालत अत्यन्त उराठलाग्दो छ । नवलपुरको गैंडाकोटमा उक्त बाटोसँगै वर्षाैंदेखि उजाडिएको अर्काे संरचना छ– भृकुटी कागज कारखाना । बन्दै गरेको बाटो त ढिलोचाँडो बन्ने नै छ । बन्द कारखानाको के होला ? कुनै खास चमत्कार नभई भृकुटी कागज कारखानाले नयाँ जीवन पाउन अब सम्भव छैन,कंकालमा परिणत भइसकेको छ ।
एउटा उद्योग १२ वर्षसम्म बन्द भएर बसेको छ,अहिलेसम्म कुनै निकास दिन नसक्नु सरकारको ठूलो कमजोरी भएको बताउँदै यहाँका सुरक्षा अधिकृत माधव घिमिरे भन्छन्, ‘सरकारले चाह्यो भने जस्तो बन्जरमा पनि हरियाली बन्छ ।’ तर अब यहाँ यो कागज कारखाना चल्न नसक्ने पनि उनले बताए । भने, ‘यही मेसिनबाट चल्नसक्ने सम्भावना न्यून देखिन्छ ।’ बन्द हुनुअघिसम्म चालु अवस्थामै रहेका मेसिन,उपकरणहरु पनि थोत्रिइसके । नयाँ–नयाँ प्रविधि भित्रिएको अहिलेको जमानामा तिनै पुराना मेसिनबाट बजारमा प्रतिस्पर्धा हुन पनि नसक्ने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन अब यसलाई फरक ढंगले विकास गर्नुपर्ने बताउँछन् । कागज कारखाना पुनःसञ्चालनमा आउन सम्भव नदेखेको बताउँदै यहाँको स्थानीय बासिन्दासमेत रहेका अमृतले भने, ‘यहाँ अस्पताल वा मेडिकल कलेज बनाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ यसका लागि प्रदेश सरकारसँग पहल गरिरहेको पनि उनले बताएका छन् ।
यो ठाउँमा मेडिकल कलेज नै खोल्न उपयुक्त हुने मेयरको पनि धारणा छ । ‘कागज कारखाना यहाँबाट कुनै पनि हालतमा सञ्चालन हुँदैन’, गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी भन्छन्, ‘यसले प्रदूषण गरेर वरिपरि गाउँलाई बस्न पनि दिन्न । भरतपुरको हाकिमचोकसम्म त्यसको कालो पुग्दो रहेछ । लुगा पनि सुकाउन नहुने,जम्मै कालो भएर न तरकारी हुन्छ, न के हुन्छ । त्यसो भएर यो कागज कारखाना सञ्चालन गर्न गाउँलेले नै दिँदैनन् ।’
भृकुटी कागज कारखानाको विषयमा विगतमा आफूले मन्त्रीस्तरमै कुराकानी गरेको सुनाउँदै मेयरले भने, ‘गएको चुनावभन्दा पहिले उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुलाई भेटेर ‘भृकुटीको विषयमा तपाईंहरुले केही गरिदिनुस्, बाटो हिँड्न पनि खतरा भइरहेको छ, टिनहरु झुण्डिराख्या छन्’ भनेर कुरा गर्दा ‘म प्रधानमन्त्रीसँग कुरा गर्छु, तपाईं अनि यस क्षेत्रका सांसद् डा. शशाँक कोइराला र हितेष गोल्छालाई पनि बोलाएर यसको टुंगो लगाउने भन्नुभाथ्यो । त्यसपछि चुनाव भयो, मन्त्री पनि फेरिए । कुरो त्यत्तिकै त्यत्तिकै रह्यो ।’ नगरपालिकाको तर्फबाट अब यहाँको संरचनालाई हटाउन लगाइने पनि उनले बताएका छन् ।
तर, यसलाई हटाउन भन्दा व्यवस्थित गरेर कागज कारखाना नै चलाउँदा उपयुक्त हुने पनि केही स्थानीयको धारणा छ । यहाँबाट एक–डेढ किलोमिटरकै दूरीमा पारि भरतपुरमा थुप्रै अस्पताल र मेडिकल कलेजहरु सञ्चालनमा रहेका हुँदा त्यो आवश्यकता नभएको गैंडाकोट–२ को शिवालयमार्ग निवासी वृद्ध टेकराज मरासिनी बताउँछन् । कागज कारखाना पुनःसञ्चालनमा आउनसके फेरि थुप्रैले रोजगारी पाउने, स्थानीयको व्यापार–व्यवसाय पनि बढ्ने बताउँदै उनले भने, ‘स्थानीयको विरोधपछि कम्पनीले चिम्नीलाई व्यवस्थित गरेर चलाउँदा पछिल्लोसमय प्रदूषण खासै फैलिएको पनि थिएन ।’
भृकुटी पल्प एण्ड पेपर लिमिटेड चीन सरकारको सहयोगमा २०४२ सालमा बनेको कारखाना हो । सुरुमा सरकारी स्वामित्वमा रहे पनि २०४९ सालमा निजीकरण गरिएपछि गोल्छा समूहले यो कारखाना चलाउँदै आएको थियो । कुनैबेला दैनिक ४० मेट्रिक टनसम्म कागज उत्पादनको क्षमता राख्ने भृकुटी कागज कारखाना २०६८ सालदेखि पूर्णरुपमा बन्द छ ।
भनिन्छ, ऊबेला सिंगो नेपालको ३५ प्रतिशत कागजको माग यसैले पूरा गर्थ्यो, यहाँको कागज विदेशसमेत निर्यात हुन्थ्यो । ठूलो संख्यामा रोजगारी दिएको थियो । यहाँका तीन सय ३३ जना स्थायी कर्मचारीले कम्पनीबाट पाउनुपर्ने आर्थिक हरहिसाब अझै पूरा पाउन सकेका छैनन् । अस्थायी, ज्यालादारी र महिनावारी काम गर्ने अरु पाँच–सात सय कामदार थिए । अहिले यहाँ कम्पनीको सुरक्षार्थ मात्र २० जनाजति छन् । त्यतिबेला चरम लोडसेडिङ,स्थानीयको विरोध, ट्रेड युनियनहरुको हस्तक्षेप लगायत विविध कारण कम्पनी बन्द हुन पुगेको थियो । भृकुटी पल्प एण्ड पेपर लिमिटेडको नाममा यहाँ ५२ बिघा जमिन छ । विभिन्न बैंकमा जग्गा धितो रहेका कारण पनि यसले निकास पाउन अप्ठेरो भइरहेको बुझिन्छ ।
टिप्पणीहरू