कमरेडहरू कित्ता काट्दै

कमरेडहरू कित्ता काट्दै

गत साउनमा गठित नेकपाको समस्या समाधान तथा सुझाव कार्यदलले अस्ति प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम थियो । तर, पूर्वएमालेसम्बद्ध सदस्यहरू महासचिवको निम्तो मान्दै बालुवाटार पुगे पनि पम्फा भुषाल र जनार्दन शर्माको अनुपस्थितिका कारण भेटघाट अन्तिम समयमा रोकिएको छ ।

यसरी समय पाउँदा पनि पम्फा किन गइनन् ? यसबारे जनआस्थाले सोध्दा भनिन्, ‘कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । त्यसैमा आधारित रहेर स्थायी समितिले समेत आवश्यक निर्णय लिइसकेको सन्दर्भमा पुनः प्रधानमन्त्रीसँग त्यही कुराको निम्ति भेट गर्न मलाई अनुचित लाग्यो, त्यसैले गइनँ ।’ उनको बुझाईअनुसार कार्यदलभन्दा ठूलो पार्टीको स्थायी कमिटी हो । भनिन्, ‘स्थायी कमिटीले सर्वसम्मत निर्णय गरेको विषय लागू नहुने, अनि साउनको कार्यदलमा फर्कने ?’

यसबीच स्थायी समिति सदस्य देवेन्द्र पौडेलहरूले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर कित्ता क्लियर गरेको भनिए पनि स्वयं पौडेलले पछिल्लो दिनमा प्रधानमन्त्रीसँग भेट नभएको बताएका छन् । उनले भने, ‘बालुवाटारमा भेटेको अलि पहिल्यै हो !’

उता, प्रचण्डलाई चाहिँ आइतबार बिहानै पौडेललगायत मातृका यादव, पम्फा भुसालहरूले भेटे । यही समूहले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र जनार्दन शर्मालाई समेत भेट्यो । यसरी यी नेताले भेटलाई जति तीव्र पारे पनि प्रधानमन्त्रीको मुडमा भने कुनै परिवर्तन आएको छैन । पछिल्लो समस्या समाधानतर्फ उन्मुख नभएको उनीहरूको बुझाई छ । तर, दोस्रो तहका नेताले समस्या समाधानको लागि सबैभन्दा धेरै प्रधानमन्त्री स्वयंले रियलाइजेशन गर्नुको विकल्प नभएको बताउन थालेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्षले भदौ २६ गतेको स्थायी समिति बैठकको निर्णय पालना गर्नुको विकल्प नदेखिएको पौडेलहरू बताउँछन् । यससँगै पार्टीको विधान र पद्धतिलाई पनि सबैभन्दा धेरै बालुवाटारले पालना गर्नुपर्ने अडान उनीहरुको छ ।

ती नेताले गरेको ठहरअनुसार, प्रधानमन्त्री ओलीले सबैभन्दा धेरै संसदभित्रको अंक गणितलाई मात्र ध्यान र महत्व दिनुभएको छ । गणितले साथ दिएको अवस्थामा बालुवाटारले अझ बढी आफ्नो रूप देखाउने र प्रतिकूल भएमा चुमुर्किएर पछि हट्नुको विकल्प छैन ।

अर्कातिर, पूर्वमसाल समूहका टोपबहादुर रायमाझी, दिनानाथ शर्मा र हरिबोल गजुरेलहरूले खुमलटारको साथ छोड्नसक्ने आशंकालाई अस्वीकार गर्दै अन्तिम अवस्थामा भने प्रधानमन्त्रीको उद्देश्यमा साथ नदिने पूर्वमाओवादी पक्षको निचोड छ । हरिबोल गजुरेलहरूको पछिल्लो गतिविधिलाई खुमलटारले ‘बालुवाटार जाँदा उतै र खुमलटार आउँदा यतै उफ्रिने’ रणनीतिको रूपमा बुझेको बताइन्छ ।

टिप्पणीहरू